२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : डेनमार्कसामु वेल्स निरिह, ४–० गोल अन्तरले पराजित



अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत शनिबार राति भएको नकआउट चरणको पहिलो खेलमा डेनमार्कले प्रभावशाली खेल प्रस्तुत गर्दै वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

युरोको समूह चरणमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेको डेनमार्कले नेदरल्यान्ड्सको आम्स्टर्डममा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो । तर दोस्रो हाफको शुरुमै अर्को गोल गरेको डेनमार्कले त्यसपछि पनि वेल्स विरुद्ध निरन्तर दबाब बनाएको थियो ।

पहिलो दुबै गोल क्यास्पर डोल्बर्गले २७ र ४८ औं मिनेटमा गरेका थिए । बाँकी दुई गोल खेलको अन्त्यतिर भएका थिए । ८८औं मिनेटमा जोकिम माहेलाले तथा ९४औं मिनेटमा मार्टिन ब्राथवेटले सुन्दर गोल गरेका थिए ।

डेनिस खेलाडीलाई फल गरेको भन्दै ९०औं मिनेटमा वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए ।

समग्र खेल अवधिमा डेनमार्कले ८ पटक वेल्सको गोलपोस्टमा प्रहार गरेका थिए भने वेल्सले एक पटक मात्र डेनिस गोलपोस्टमा प्रहार गरेका थिए । उता ९ पटक डेनमार्कले कर्नर हान्ने अवसर पाएको थियो भने वेल्सले एक पटक मात्र कर्नरको अवसर जुटाएको थियो ।

वेल्सकाे टिममा कप्तान ग्यारेथ बेल, एराेन राम्से, डेनियल जेम्स जस्ता विश्वस्तरीय खेलाडी भएपनि उनीहरूले खासै प्रभावशाली खेल प्रस्तुत गर्न सकेका थिएनन् ।

समग्रमा डेनमार्कको खेल कौशल, आक्रमण र सटिक पास लोभलाग्दो थियो । अब यो विजयसँगै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लिग चरणमा फिनल्यान्ड र बेल्जियमसँग पराजित भएपनि रसियालाई ४–१ गोल अन्तरले हराएर डेनमार्क प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

आजै राति इटाली र अस्ट्रियाबीच १२.४५ बजे दोस्रो खेल हुँदैछ ।