• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय



एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सुरतको एक अदालतले बिहीबार राहुल गान्धीलाई ‘सबै चोरको उपनाम मोदी’ भन्ने भनाइसँग सम्बन्धित मानहानीको मुद्दामा दोषी ठहर गरेको हो ।

उनलाई २ वर्षको जेल सजाय र १५ हजार जरिवाना पनि तोकिएको छ । त्यसको केही समयपछि उनलाई सोही अदालतले ३० दिनको लागि जमानत पनि दिएको थियो । सुनुवाइका क्रममा राहुल अदालतमा उपस्थित रहे ।

राहुलले अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए । उनका वकिलका अनुसार राहुलले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको बताएका छन् । भ्रष्टाचारविरुद्ध आवाज उठाएको उनको भनाई छ । यस मामिलामा उनीविरुद्ध विगत ४ वर्षदेखि मानहानीको मुद्दा चलिरहेको थियो । यसअघि १७ मार्चमा अदालतले यस विषयमा सबै बहस सुनेर फैसला सुरक्षित राखेको थियो ।

राहुललाई आईपीसीको धारा ४०० र ५०० अन्तर्गत दोषी ठहर गरिएको छ । यसमा २ वर्षसम्म कैदको व्यवस्था छ । राहुलका वकिलले अदालतलाई भने– ‘यो सम्पूर्ण घटनामा कोही पनि घाइते भएका छैनन् । यसबाट कसैलाई नोक्सान भएको छैन । त्यसकारण हामी कुनै पनि प्रकारको दयाको याचना गर्दैनौं ।’

२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक र्‍यालीमा राहुलले आफ्नो भाषणमा ‘चोरको उपनाम मोदी हो’ भनेका थिए । उनले भनेका थिए – ‘किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस् ।’ यस मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी तीन पटक अदालतमा हाजिर भएका थिए । २०२१ अक्टोबरको अन्तिम उपस्थितिको समयमा, उनले आफूलाई निर्दोष बताएका थिए ।