२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरुद्धपछि कर्णालीको सदन आज पनि चलेन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन । तीन पटक बैठक स्थगित भयो । यही असार ११ गते बाह्रौं बैठक बस्यो तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरेपछि स्थगित भयो । यो क्रम निरन्तर चलिरहेको छ ।

आज पनि एमालेले सदन अवरोध गरेपछि बैठक स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकार र सदनमा आफ्ना कुरा सुनुवाई नभएको टिप्पणी गर्नुभयो । एउटै पार्टी प्रतिपक्ष र सत्तापक्ष हुने गरी चलाउन खोजिएको बैठक संसदीय अभ्यास विपरीत भएको उहाँले तर्क गर्नुभयो ।
 
नेता कँडेलले भन्नुभयो, “एमाले कर्णाली प्रदेशसभा दलको सदस्यको हैसियतमा सर्वोच्च अदालतले जेठ २७ गते पुनर्बहाली गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही दलीय अनुशासनअनुसार चलेको अवस्था छैन । यसअघि सभामुख शाहीले चारै जनलाई एमाले प्रदेशसभा दलको सदस्यको हैसियत कायम रहेको पत्र पढेर जानकारी गराउनुभएको थियो ।”

“एमाले प्रतिपक्ष र सत्तापक्ष हुने के यो प्रदेशसभाको आशन व्यवस्था त्यस्तो छ ?”, सभामुखलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले गरेको निर्णय त्यस्तै हो रु सर्वोच्चको निर्णयलाई सम्मान गर्दा पनि पुनर्बहाली भएका प्रदेशसभा सदस्यले त्यो बाटो अँगाल्नुभएको छैन ।” सभामुखको रुलिङसहित भएका निर्णय कार्यान्वयन र  प्रदेशसभामा दल अनुसार आसन व्यवस्था नभएको जनाउँदै उहाँले संविधान धारा १६८ को उपधारा २ बमोजिम सरकारले चल्नुपर्ने बताउनुभयो ।
 
संविधानको संरचनाअनुसार काम गर्न आग्रह गर्नुभएका उहाँले सर्वोच्च, सभामुख र संविधान विपरीत काम त्यसलाई समर्थन, सहयोग र स्वीकार्न नसकिने र बैठकको कारवाही अगाडि बढ्न नदिने धारणा व्यक्त गरेलगत्तै एमालेका प्रदेशसभा सदस्यले सदन अवरोध गरेका थिए । सदन अवरोधका कारण सभामुख शाहीले असार १८ गते शुक्रबार दिउँसो २ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।