२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त: पक्षमा १७२, विपक्षमा ८९



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदानमा दुई सय ६२ सांसद उपस्थित हुनुभएको थियो ।

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभयो । प्रस्तावको विपक्षमा ८९ मत खसेको छ । विश्वासको मत दिन्न भन्नेमा एक मत परेको छ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिनुभयो ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्नुभएको थियो । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उहाँलाई प्रतिनिधिसभाका दुई सय ७० सांसदमध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिनुभएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १२ गते अपराह्न १ बजे बस्नेछ ।