काठमाडौँ । एक हजार किमी पदयात्रा गर्दै एक सय पाचँ कोरियन भिक्षु लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा आएका भिक्षुहरु भारतको नयाँ दिल्ली हुदै नेपाल आईपुगेका हुन् ।
उनीहरु बोधगया, सारनाथ, कुशीनगर, धर्मशालालगायत भारतका विभिन्न बौद्धस्थलको पदयात्रा सम्पन्न गरी ४० दिनको पैदल यात्रामा बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । उनीहरु लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए । उनीहरुले लुम्बिनीमा विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे ।
भिक्षुहरुलाई प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे र नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले स्वागत गर्नुभएको थियो । उनीहरु बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीसम्म पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पदयात्रा गरेका उनीहरु मार्च २३ मा कोरिया प्रस्थान गर्नेछन् ।