६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…

राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…
अ+ अ-

काठमाडौँ । बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर हुनुहुन्छ ।

“म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल)को राम्रो सेवा गर्न पाएकामा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन । मलाई फोन गरिरहनुहुन्थ्यो, घरमा पनि पटकपटक आउनुभयो”, सापकोटाले भन्नुभयो ।

राष्ट्रपति पौडेल तत्कालीन समय बागलुङ जेलमा बस्दा दूध पुर्याउने डिलप्रसाद सापकोटालाई पनि शपथग्रहण समारोहमा बोलाइएको थियो । घरायसी कारणले शपथ समारोहमा आउन नपाएका सापकोटाले एक साताभित्रै राष्ट्रपतिलाई भेट्ने योजना रहेको सुनाउनुभयो ।

राष्ट्रपति पौडेल विसं २०४६ को जनआन्दोलनका क्रममा सङ्गठन बनाउने क्रममा बागलुङ पुग्नुभएको थियो । सङ्गठन गरेर फर्किने क्रममा पर्वतमा पुगेपछि पक्राउ पर्नुभएको थियो । पक्राउपछि पौडेललाई बागलुङ जेलमा राखियो । त्यतिखेर बागलुङ काठेखोला गाउँपालिका–६ का सापकोटा गाउँमा दूध जम्मा गरेर सहरमा लगेर बिक्री गर्ने काम गर्नुहुन्थ्यो । सोही क्रममा पौडेलसँग भेटघाट र चिनाजानी भएको थियो ।

सहयोग गरेको व्यक्ति राष्ट्रपति बने पनि सापकोटालाई व्यक्तिगत लाभका लागि कुनै अपेक्षा छैन । “सिर्फ संस्थाको गरिमालाई कायम राखी जनताको विश्वास र भरोसालाई कायम राखेर पदीय जिम्मेवारी पूरा गरिदिए पुग्छ”, उहाँले भन्नुभयो ।

बागलुङ कांग्रेसमा आबद्ध ६३ वर्षीया सापकोटा अहिले पनि सामान्य खेती किसानी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “पौडेल जेल बस्दा दुःख लगेर खुवाउँथे, गाउँबाट मकै भटमास भुटेर लैजान्थेँ, साथमा पत्रपत्रिका पनि किनेर लगिदिन्थेँ ।”

सङ्घर्षपछिको सफलता नै सार्थक जीवनको खुसी हो । दुःख, सङ्घर्ष र हैरानी दैनिकीसँग जोडिएका कुरा हुन् । पञ्चायतकालीन राजनीतिको रापले पौडेलको जीवनमा अनेकन मोड ल्यायो । तर पनि आत्मविश्वास कहिल्यै खस्केन । आस्था र विश्वासको दियो निभेन । त्यसैले त सफलताको शिखर चुन्न सफल हुनुभयो राष्ट्रपति बनेर । जेल जीवन जिउँदा पनि राष्ट्रपति पौडेलमा कुनै निराशा थिएन । मुहारमा कान्ति छाएकै हुन्थ्यो । “हाम्रो आन्दोलन सफल हुन्छ, हामी सफल भएरै निस्कन्छौँ भन्नुहुन्थ्यो”, पौडेललाई जेलमा भेट्दाको अनुभव सुनाउँदै सापकोटाले भन्नुभयो ।

बागलुङ काठेखोला–५ का रघुपति शर्माले राष्ट्रपति पौडेलसँगै जेल बस्नुभएको थियो । उहाँलाई पनि राष्ट्रपतिको शपथमा काठमाडौँ बोलाइएको थियो तर कारणवश आउन पाउनुभएन । “राष्ट्रपति पौडेलसँग जिल्ला प्रहरी कार्यालयको कारागार र बागलुङ कारागारमा गरी ९९ रातसँगै बसेको थिएँ । उहाँलाई नजिकबाट चिनेको छु, सबैलाई राम्रो व्यवहार गर्ने सरल र सादगी व्यक्तित्व हुनुहुन्थ्यो”, शर्माले भन्नुभयो ।

शर्माका अनुसार सङ्घ संस्था ऐन, २०१७ अनुसार तत्कालीन समयमा पौडेलसहित सङ्गठनमा सक्रिय १० जनालाई जेल पठाइएको थियो । पौडेल जेलमा रहँदा बिहान सबैरे उठ्ने, किताब लेख्नुका साथै देश, लोकतन्त्र र मानव अधिकारका विषयमा जेलमै कक्षा सञ्चालन गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो, “पौडेल पढेलेखेको मान्छे हामीलाई जेलभित्रै कक्षा दिनुहुन्थ्यो, असाध्यै शालीन र सरल व्यक्ति हुनुहुन्थ्यो ।”

शर्माले राष्ट्रपति पौडेलको कार्यकालमा देशमा राजनीतिक स्थायित्व कायम भई जनताभित्र पलाएको निराशालाई आशामा बदलेर देशको स्वतन्त्र अभिभावक बन्ने विश्वास व्यक्त गर्नुभयो । पौडेलसँगै जेल पर्दा शर्मा तत्कालीन समयमा नेपाल विद्यार्थी सङ्घ बागलुङको सचिव हुनुहुन्थ्यो ।

शपथ समारोहमा बोलाइएका गोविन्द कँडेल पौडेलसँगै जेलमा बस्नुभएको थियो । जेल जीवन बिताउँदाको साथी राष्ट्रपति बनेपछि शीतल निवास पुगेर बधाई दिएर खुसी साट्नुभयो । लामो राजनीतिक जीवन सङ्घर्षमा सादगी र सरल राजनीतिज्ञको छवि बनाउनुभएका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो । राष्ट्रपति पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिलाई आज शपथ ग्रहण समारोहमा बोलाउनुभएको थियो । पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिलाई राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण समारोहमा अतिथिका रूपमा बोलाउनुभएको हो । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको थियो ।

राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपति पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँकी श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, सङ्ज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) हुनुहुन्छ ।

भरतपुर कब्जा गर्ने कांग्रेसको तत्कालीन सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेलले विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गर्नुभएको थियो ।

मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ–१६ बोहोराटार बालाजु हो । उहाँले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) सम्म अध्ययन गर्नुभएको छ । सिबी अधिकारी/रासस