९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो
अ अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट मनग्य आम्दानी पनि लिनुभयो । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसक्नुभयो ।

राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्नुहुन्थो । राईले गरेको चिराइतो खेतीबाट प्रभावित भएर सोही गाउँका दावा शेर्पाले पनि अरु खेती गर्न छोडेर चिराइतो खेती गर्न थाल्नुभयो । जङ्गलमा मात्र पाइने घर आगनमै शेर्पाले चिराइतोको बेर्ना उमार्न थाल्नुभयो । बारीका कान्ला र डिलहरु कहिँकतै ठाउँ खाली नराखी चिराइतो बेर्ना लगाउनुभयो । शेर्पाले पनि चिराइतोबाट राम्रो आम्दानी लिनुभएको थियो ।

त्यतिबेला सोही गाउँमा कमल राई वैदेशिक रोजगारीमा जनाका लागि सोच बनाउँदै हुनुहुन्थ्यो । तर चिराइतोको बजार मूल्यले राईको मन लोभ्यायो । अनि राईले वैदेशिक रोजगारी जाने सोच परिवर्तन भयो । उहाँले गाउँमा बाँझो जमिनमा चिराइतो खेती गर्न थाल्नुभयो । एक÷दुईजना गर्दागर्दै गाउँका प्रायः सबैले चिराइतो खेती गर्न थाले । जङ्गलमा मात्र पाइने चिराइतो व्यावसायिक रुपमै हुन थाल्यो र मुख्य आम्दानीको स्रोत बन्न पग्यो । त्यस समयमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि आर्थिक तथा प्रविधिक सहयोग गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङ बताउनुहुन्छ ।

जीविकोपार्जन गर्न तथा समुदायमा आम्दानीको स्रोत बढाउन परिषद्ले सहयोग गरेको चम्जोङको भनाइ रहेको छ । तर अहिले भने याम्फुदीनमा चिराइतो खेती गर्ने किसान भेट्न मुस्किल छ । विस्तारै चिराइतोको बजार मूल्य खस्कदै गएसँगै चिराइतो खेती गर्न छोडेर अन्य वैकल्पिक व्यवसाय गर्न थाल्नु भएको सिरिजङ्गा गाउँपालिका–७ सूर्यमान राईले बताउनुभयो ।

राईले भन्नुभयो,“विगतका वर्षमा २२ मनसम्म चिराइतो जम्मा गरियो तर अहिले भने खेती गर्न छाडियो ।” फक्ताङलुङ गाउँपालिका–६ का राजकुमार राईले बजार मूल्य खस्कदै गएसँगै चिराइतो खेती गर्न छोडेर अलैँची खेती गर्न थाल्नुभएको छ । सिदिङवा गाउँपालिका–७ सुरुम्खिमका कृष्णकुमार तामाङले चार वर्षअघि चिराइतो बेच्न सक्नुभएन । पहिले प्रतिमन रु ३५ हजारमा बिक्री गरेको चिराइतो कोरोना महामारीका कारण नाका बन्द हुनु र भाउसमेत आठदेखि १० हजार रुपैयाँमा झरेपछि बिक्री गर्न नसकेको तामाङ बताउनुहुन्छ । उहाँले करिब ५० रोपनीमा चिराइतो खेती गर्नुभएको थियो ।

व्यवसायी सविन बानियाँका अनुसार अहिले प्रतिमन चिराइतो झापामा रु २५ हजारदेखि ३० हजारमा कारोबार भइरहेको छ । यो गत वर्षको भन्दा करिब तीन गुणाले बढी हो । ‘‘केही वर्षअघि ३२ हजार प्रतिमन पनि तिब्बत् लगेर बेच्यौँ, त्यसपछि लगातार घटेको चिराइतोको मूल्य अहिले फेरि सुधार भएको छ,’’ व्यवसायी बानियाँले भन्नुभयो “चीन तर्फको नाका बन्द भए पनि भारततर्फ कारोबार भइरहेको छ ।” अलैँची उत्पादन नहुने क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो ।

अन्तर्राष्ट्रियस्तरका ठूला व्यापारीले चिराइतोको मूल्य निर्धारण गर्छन्, किसानले पाउने भनेको थोरै मात्र हो । सस्तोमा खरिद गरेर भण्डारण गर्ने र अनि भाउ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाउ घटाउने गरेको बानियाँ बताउनुुहुन्छ । राज्यले नै यसलाई प्रशोधन गरेर बजारीकरणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

फक्ताङलुङ गाउँपालिका–५ का चिराइतो व्यापारी सुसन लिम्बूका अनुसार किसानले चिराइतो खेती गर्न छाडेकाले चिराइतो सङ्कलनमा कमी हँुदै गएको छ । उहाँले भन्नुभयो, “चिराइतोका माग उच्च छ, तर उत्पादन छैन । दुई÷चार वर्ष बजार मूल्य नहुँदा किसानले खेती गर्न छोडे ।” विगतका वर्षको तुलनामा यसवर्ष एक तिहाई मात्र चिराइतो सङ्कलन हुनसकेको उहाँको भनाइ छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा विगतका तुलनामा चिराइतो उत्पादन कमी हुँदै गएको परिषद्का कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो । पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ ।

चार वर्षअघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण चार वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायत सामानको निकासी पनि ठप्प बनेको छ । बिक्रीका लागि ओलाङ्चुङगोलासम्म पु¥याएका चिराइतो व्यापारीले फर्काएको फक्ताङलुङ गाउँपालिक–७ का वडाध्यक्ष छेतेन बालुङले बताउनुभयो ।

अघिल्ला वर्षमा मूल्य उच्च हुँदा हेलिकप्टरबाटसमेत तिब्बत् लगिएको थियो । सात वर्षअघि रु एक लाख प्रतिक्विन्टल रहेको मूल्य दुई वर्षमा रु ३० हजारमा झ¥यो । त्यसयता क्रमशः बजार मूल्य ओरालो लाग्दै गयो । कुनै समयमा एक लाखमा बिक्री गरेर चिराइतो रु आठ हजारसम्ममा बिक्री गर्नुपरेको फक्तााङलुङ गाउँपालिका–६ लावचेका किसान बुद्धिराज राईले बताउनुभयो ।

पाखाबारी र अन्य खेती गर्न नसकिने जङ्गल फाँडेर किसानले चिराइतो खेती गर्दै आएको छन् । प्रमुख नगदे बालीका रूपमा अलैँची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भनेजस्तो मूल्य नपाउदा किसानमा उत्साह छैन । अलैँचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ ।

आर्थिक वर्ष २०७८/८९ मा पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताउनुभयो । छुट पूर्जीका लागि प्रतिकेजी रु १५ राजस्व जम्मा गर्नुपर्दछ । पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन हुँदा ८७ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ ।वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७÷७८ मा १६ हजार तीन सय ३४।१० केजी चिराइतो सङ्कलन भएको र यसबाट दुई लाख चौवालिस हजार पाँच सय बढी राजस्व सङ्कलन भएको थियो । जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको शाहले बताउनुभयो ।

नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्याण्ड, मलेशिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वजरल्याण्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्दति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिको रुपमा चिराइतोको प्रयोग हुने गर्दछ । मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्दतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ ।

महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न÷गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । लामो समयदेखि नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायतका जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुनेगर्दछ । केही वर्षदेखि विभिन्न जिल्लामा चिराइतोको व्यावसायिकरूपमै खेती गर्न थालिएको छ । विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए पनि नेपालमा १० प्रजातिका चिराइतो पाइन्छ ।

वनस्पति विभागका अनुसार विशेषगरी बारी वा झाडीको भित्तोमा प्राकृतिक रूपमै आफैंँ उम्रने र बढ्ने चिराइतोको वैज्ञानिक नाम ‘स्वेर्सिया चिराइतो’ हो भने यो ‘जेनसियानेसी’ परिवारमा पर्छ । यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने बुट्यान हो । समुद्री सतहबाट करिब एक हजार पाँच सयदेखि चार हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो । औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवद्र्धक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ । कीटाणुनाशक यो जडीबुटी जनावरले नखाने र रोगकीरासमेत लाग्दैन । रासस