काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले सार्वजनिक गर्नु भएको विज्ञप्तिमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३-३ रुपैयाँ बढेको उल्लेख छ ।
नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल प्रति लिटर १४५ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर १२८ रुपैयाँ पर्नेछ ।
निगमले गत माघ १८ गते पनि इन्धनको मूल्य बढाएको थियो । यसअघि २०७० फागुन ३० गते पेट्राेल प्रतिलिटर १४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन पश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने प्रवक्ता कार्कीको भनाई छ ।