काठमाडौ । १९ वटा जीवन विमा कम्पनी मध्ये १८ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिकबर्ष २०७६/७७ को साधारणसभाको प्रक्रियानै सुरु नगरेको बिमा समितिले जनाएको छ । पब्लिक लिमिटेडमा सञ्चालन हुने यस्ता बिमा कम्पनीहरुले निर्धारित समयभित्र अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सैद्धान्तिक सहमतीको लागि विमा समितिमा पेश गरी स्वीकृत भएपछि साधारणसभा गर्नुपर्ने हुन्छ ।
तर १९वटा जीवन बिमा कम्पनीहरुमध्ये प्राइम लाइफ इन्सोरेन्सले मात्र निर्धारित समयभित्र साधारणसभाको अनुमति माग्दै गत आर्थिक बर्षको वित्तीय विवरण सैद्धान्तिक सहमतिका लागि विमा समितिमा पेश गरेको छ । यद्यपि समितिले हालसम्म सहमति भने प्रदान नगरेको श्रोतले बताएको छ । तर, अन्यले साधारणसभाको प्रक्रिया नै नगरेको खुलेको छ ।
वित्तीय क्षेत्रका जानकारहरुकाअनुसार १९ वटा कम्पनीले आर्थिक वर्ष २०६७/७७ को साधारणसभा नगर्दा मार्जन लेण्डिङमा समस्या आउनुका साथै सेयरधनीहरुलाई लाभांश वितरणमा समेत समस्या आउछ ।
जनताको प्रत्यक्ष लगानी रहेका यस्ता कम्पनीहरुले सुशासन र जवाफदेहिता लिनुपर्ने हुन्छ । तर यसरी साधारणसभा नै नगर्ने विमा कम्पनीहरुको व्यवहारले उनीहरुको पारदर्शिता, सुशासन र जवाफदेहितामा प्रश्न उठाएको छ । बिमा समितिका अनुसार नेपालमा हाल १९ वटा जीबन विमा कम्पनी, २० ओटा निर्जिवन विमा कम्पनी र एउटा पूर्नविमा कम्पनी क्रियाशिल रहेका छन् ।











