२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानमाला भजन खल अक्षय कोषलाई महानगरबाट २० लाख रुपैयाँ प्रदान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज विहान भजन खलमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण श्रेष्ठसहित पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभएको हो । कोषको व्याजबाट भजन घरमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन् । 

रकम प्रदान गरिसकेपछि बोल्दै प्रमुख शाक्यले भन्नुभयो, सम्पदा जोगाउन महानगरले नीति बनाएर काम गरिरहेको छ । अहिलेसम्म सम्पदाको मर्मत, सम्भार वा जीर्णोद्धारका काममा र अमूर्त सम्पदाहरुलाई बचाउने प्रयासका लागि महानगरमा आएका कुनै पनि मागलाई रित्तो हात फर्काइएको छैन ।

बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित गराइ राख्ने भजनको महत्वमा चर्चा गर्दै उहाँले ज्ञानमाला भजन खलमा भएका भजन संग्रहलाई नेपाल भाषामा मात्र सीमित नराखी अन्य मातृभाषा, राष्ट्रिय र अन्तरराष्ट्रिय भाषामा अनुवाद गरेर अन्य समूहमा पु¥याउन सुझाव दिनुभयो । ज्ञान बाँडेर बढ्छ । त्यसैले ज्ञानमालासँग भएका पुराना भजनलाई वितरण गरौँ । प्रमुख शाक्यको भनाइ थियो । भजनले स्वयम्भू क्षेत्रको धार्मिक गतिविधिलाई जीवन्त बनाएको उल्लेख गर्दै उहाँले यसको निरन्तरता र पुन्तान्तरणमा जोड दिनुभयो । 

०७६ सालमा भजन घरमा आगलागी भएको थियो । त्यसपछि पुरातत्व विभागले यो घरलाई अन्यत्र स्थानान्तरण गर्ने प्रयास गरेको थियो । ०७२ सालको भूकम्प र ०७६ सालको आगलागीका घटना स्मरण गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले सर्वपक्षीय छलफल गराएरु इसको पुनस्र्थापनाका प्रयास गरेपछि पुनस्र्थापना भएको बताउनुभयो । स्वयम्भू क्षेत्रको व्यवस्थापनमा महानगर र वडाबाट कुनै पनि कमी हुन नदिने उल्लेख गर्नुभयो । महानगरको नीतिअनुरुप वडाबाट सञ्चालन गरिने विकासका काममा सम्पदा प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।
 
भजन घर स्वयम्भूमाथि नै छ । पाका मानिसहरुलाई त्यस ठाउँसम्म पुग्न कठिन छ । यस्ता जेष्ठ नागरिकलाई भजन सुन्ने र हेर्ने व्यवस्थाका लागि सहयोग गरिदिन खलका अध्यक्ष तीर्थ नारायण महर्जनले मेयर शाक्यलाई आग्रह गर्नुभयो । 
 
खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूकाअनुसार यस ठाउँमा वि. सं. १९९४ साल ने. पं. १०५७ देखि यहाँ नियमित भजन हुँदै आएको छ । बन्दाबन्दीका समयमा पनि यहाँको चलनलाई कुनै न कुनै रुपमा निरन्तरता दिइएको उहाँको भनाइ छ । महानगरबाट सहयोग पाएपछि बर्षौँदेखिको सांस्कृतिक संस्कारले निरन्तरता पाएकोमा गर्व महसुस भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कोषबाट प्राप्त हुने रकमबाट बाद्यसामाग्री खरिद गर्ने, भजनमा आउने भक्तलाई जलपान गराउने काम गरिनेछ ।   

त्यस अवसरमा प्रमुख शाक्यले खलको घरमा बुद्धको मूर्ति अनावरण गर्नुभएको भयो । रामघाटका देवकाजी महर्जन परिवारले २ लाख ३४ हजार लागतमा तयार भएको मूर्ति भजन घरलाई दिएको हो । 

त्यस अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडा १५ का वडा सदस्यहरुसहित भक्तहरु सहभागी हुनुहुन्थ्यो ।