६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो
अ+ अ-

रामपुर (पाल्पा) । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो ।

“बिहान साँझको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो, “मैले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने गरेको छु” । उहाँ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढाका बुन्नमा व्यस्त हुनुहुन्छ । ढाका बुनेर एक महिनामा रु २० हजारसम्मको कमाइ हुने गरेको उहाँले बताउनुभयो । जीवन जीउन पहिलेदेखि धेरै सङ्घर्ष गर्नुभएकी उहाँ आफू मात्रै स्वरोजगार नभई गरिव, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिने गर्नुहुन्छ । घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यावसाय महिलालाई धेरै सहज भएको उहाँ बताउनुहुन्छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पा तथा स्थानीय ढाका उद्योगमा सीप सिक्नुभएकी उहाँ दुई वर्ष अघिदेखि पाल्पाको तानसेनस्थित स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा ढाका बुन्ने गर्नुहुन्छ । सानो सीप भए पनि तल्लिन भएर निरन्तर काम गरियो भने ढाका बुनेर राम्रै कमाइ गर्न सकिने उहाँको अनुभव छ । तानसेन नगरपालिका १२ बौघापोखराथोककी धनी थापाले पनि अहिले एक वर्ष अघिदेखि ढाका बुनेर आफ्नो खर्च जुटाउन थाल्नुभएको छ । दिनभर घरमै फुर्सदमा बिताउने थापालाई ढाका बुनाईले व्यस्त बनाएको छ । तानसेन बजारमा कोठा भाडामा लिएर ढाका उद्योगमा काम गर्ने अवसर पाउँदा उहाँमा आत्मबल बढ्दै गएको छ ।

माथागढी गाउँपालिका–३ सराईका खिमकुमारी गाहाले ढाका बुनाइलाई नै प्राथमिकता दिएर आठ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ । तानसेन बजारमा भाडामा बसेर दिउँसोको समय ढाका बुन्ने त्यसैबाट आर्जन गरेको रकमले परिवार पाल्ने गर्नुहुन्छ । आफूले यस क्षेत्रमा काम गर्न थालेपछि आर्थिक क्षेत्रमा अरुको निर्भर रहनु नपरेको गाहा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हातमा सीप भयो भने जहाँ बसेर पनि जीवन धान्न सकिन्छ, ढाकाको सीपले मलाई आत्मनिर्भर बनाएको छ, दुई चार पैसाका लागि अरुसंग हात थाप्नुपरेको छैन, आफैँले कमाउन सुरु गरेपछि कसैको तनाव भएन ।” तानसेन–६ बर्तुङ बस्ने सानु केसीको ढाका सारीमा नयाँ नयाँ बुट्टा, डिजाइन राखेर तयार पार्ने राम्रो कला छ । ढाकाका सबैजसो कपडा बुन्ने गरे पनि सारी बुन्न उहाँ बढी मन पराउनुहुन्छ । ढाका बुनाइसम्बन्धी तीन महिनाको सीप विकास तालिम लिनुभएकी उहाँ तानमा बसेर ढाका बुन्न थालेपछि सीप वृद्धिसँगै आयआर्जनको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउनुहुन्छ ।

“पछिल्लो समय ढाकाका सारी प्रयोग गर्ने बढ्दै गएका छन्, ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइन भरेर सारी तयार पार्ने गरेको छु, तानमा बसेर ढाका बुन्दा आनन्द लाग्दछ”, उहाँले भन्नुभयो । रिब्दिकोट गाउँपालिका–६ ठिमुरेकी विष्णु पुलामी छोराछोरी पढाउन सदरमुकाम तानसेनमा भाडामा बस्नुहुन्छ । दुई जना छोराछोरीको भविष्य उज्वल बनाउन उचित शिक्षाको खोजीमा पाल्पा सदरमुकाम तानसेनमा भाडामा बस्नुभएकी उहाँलाई ढाका कपडा बुनाइले भुलाएको छ ।

बिहान साँभm छोराछोरीको स्याहारसुसारमा व्यस्त रहने उहाँ छोराछोरीलाई स्कुल पठाएपछि दिउँसोको समय ढाका बुनाइमा खर्चनुभएको छ । उहाँका श्रीमान् शिक्षण पेसामा गाउँमै कार्यरत हुनुहुन्छ । ढाका कपडा बुनाइमा संलग्न हुन थालेपछि सामान्य खर्चका लागि श्रीमान्को हात थाप्नु नपरेको उहाँले बताउनुभयो ।

ढाका कपडा बुनेबापत एक मिटरको रु तीन सयदेखि चारसयसम्म कामदारले ज्याला बुझ्ने गर्छन् । हातको सीपले फुर्सदिला महिलालाई रोजगार गर्ने माध्यम ढाका कपडा बुनाइ बनेको छ । पछिल्ला वर्षमा सदरमुकाम तानसेनमा सञ्चालनमा रहेका विभिन्न ढाका उद्योगमा पाल्पाका धेरै महिला संलग्न छन् । बेरोजगार, विपन्न, फुर्सदिला महिलालाई ढाका उद्योगले स्वरोजगारको अवसर सिर्जना गरेको छ ।

स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगका सञ्चालक पूर्णमाया महर्जनले हाल दैनिक दुई दर्जन बढी महिलालाई रोजगार दिएको बताउनुहुन्छ । पाल्पामै पहिलो ढाका उद्योग सञ्चालन गर्नुभएकी महर्जनले स्वरोजगार बनाउन महिलालाई सीप सिकाएर आफैँले उद्योगमा काम गर्ने अवसर दिनुभएको छ ।

“महिला आर्थिक क्षेत्रमा अब्बल नहुँदा घरपरिवार, श्रीमान्को अवहेलना सहनुपरेको छ, मैले महिला कामदारलाई मात्रै प्राथमिकता दिएर उद्योगमा तान बुन्न दिने गरेको छु, अहिलेसम्म पाँच हजारभन्दा बढी महिलाले सीप सिकिसकेका छन्”, महर्जनले भन्नुभयो । उहाँको उद्योगमा एक सय वटा विभिन्न खालका तान तयारी अवस्थामा छन् । पित्लुम ९खाल्डेतान०, हेण्डलुम, हाते जेकार्ड, हातेतान लगायतका तानमा बसेर महिलाले ढाका कपडा तयार पार्ने गरेका छन् । पाल्पाकै पहिलो र पुरानो उद्योग भएकाले यहाँ नयाँ पुराना सबैजसो तान चलनचल्तीमा आएका छन् ।

यस उद्योगमा नेपालका ३६ जिल्लाबाट सीप सिक्न आएर आफ्नो सीप विस्तार गरेका छन् । बिहानदेखि साँझसम्म उद्योगमा कामदार नियमित खटिरहेका हुन्छन् । आफूले जति धेरै उत्पादन गर्न सकियो सोहीअनुसार आम्दानी हुने भएकाले बिहानदेखि साँझसम्म निरन्तर ढाका बुन्नमा महिला व्यस्त बनिरहेका हुन्छन् । उद्योगका व्यवस्थापक मोहन हेम्चुरीका अनुसार यहाँ एक महिनामा तीन सय मिटरभन्दा बढी ढाका कपडा उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको कपडा नेपाल अधिराज्यभर पुग्ने गरेको छ । रासस