९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

आँधीखोलाको अस्तित्व सङ्कटमा

आँधीखोलाको अस्तित्व सङ्कटमा
अ अ+ अ-

वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन् । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह घट्दै गएको छ । सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व सङ्कटमा पर्ने खतरा बढेको हो । बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ । समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ ।

समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता सङ्कटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउनका लागि नेपाल नदी संरक्षण संस्था, नेपालले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएकाले यसको रोकथाम र संरक्षणमा ध्यान दिनका लागि ‘आँधीखोला संरक्षण महाअभियान’ सञ्चालन थालिएको बताउनुभयो ।

“आँधीखोलामा पहिला पानीमुनी देखिने ढुङ्गा अहिले धेरै माथि आइसकेका छन्, यो जथाभावीरुपमा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् कार्यबाट निम्तिएको सङ्कट हो” आलेलले भन्नुभयो, “पहिलाजस्तो ढुङ्गा खोलामा देखिँदैनन्, माछा पाइनै छाडे, माछा मारेरै जीवनयापन गर्ने माझी जातीको पेसा लोप भएको छ ।”

आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “स्याङ्जाको सभ्यता तथा अमूल्य गहनाको रुपमा रहेको आँधीखोलाको संरक्षण र संवद्र्धनमा यहीँका नीति निर्माता र नागरिक पहिला सचेत हुनुपर्छ”, आलेले भन्नुभयो, “होइन भने केही वर्षपछि काठमाडौँको बागमती र विष्णुमतीको जस्तै हालत आँधीखोलाको हुनेमा कुनै शङ्का छैन, समयमै ध्यान दिनुपर्छ ।”

खोलाबाट जथाभावीरुपमा ढुङ्गा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने अवस्था छ । खोलाको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ । खोला आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेरमात्रै मिसाउन, माझी जातीको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाइएको छ ।

आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाणले बताउनुभयो । आँधीखोलाको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको दोहन हुन नदिन प्रयास गरिने बताउनुभयो ।

“आँधीखोलाको सभ्यता जोगाउनका लागि हामी प्रतिबद्ध छौँ, सकारात्मक छौँ, यसलाई प्रदूषण रहित बनाउन कसरी सकिन्छ भन्नमा चिन्तित छौँ” खाणले भन्नुभयो, “बजारबाट खोलामा मिसिने ढललाई सिधै नभई प्रशोधन गरेर मिसाउनका लागि कार्य थालिएको छ, अब छिट्टै सकिन्छ ।”

आँधीखोलामा माछा हराउँदै गएकाले माझी जाती आफ्नो पुख्र्यौली पेसाबाट पलायन हुँदै गएको छ । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका हुँदै आँधीखोला बग्छ । उत्पत्ति भएको अन्धाअन्धी दहदेखि आँधीमुहान (मिर्मी) पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार यही खोलाको किनारमा अवस्थित छन् । रासस