३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’
अ+ अ-

ढोरपाटन । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ ।

पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट पर्यटक घुम्न आउन थालेका छन् । दरबार नजिकै टेउवाको मूर्तिकला र ताराखोलाको गाईघाट झरना छन् । मूर्तिकला र झरनामा घुम्न आउने अधिकांश पर्यटक दरबारसम्म पुग्ने गरेका छन् ।

दरबारसम्मै गाडीमा पुग्न सक्ने भएपछि दिनप्रति दिन आन्तरिक पर्यटक दरबारमा आउने गरेको स्थानीयको भनाइ छ । भरतपुर चितवनबाट ढोरपाटन घुम्न आउनुभएका आकाश परियारले गलकोट दरबारको पनि अवलोकन गर्नुभयो । उहाँ शान्त वातावरणमा रहेको दरबारले यहाँ आउने जो कोहीलाई आकर्षित गर्ने बताउनुहुन्छ ।

परियार भन्नुहुन्छ, “सयौँ वर्ष पुराना सम्पदा अहिले पनि देख्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो, यस्ता एतिहासिक महत्व बोकेका सम्पत्ति अहिले पनि छन् हाम्रो देशमा, यो ठाउँ पनि धेरैलाई आकर्षित गर्ने खालको रैछ, त्यसमाथि यति सुन्दर दरबारले मलाई अझै केही दिन यतै बसेर घुमौँघुमौँ गरायो ।”

बागलुङ आउँदा ढोरपाटन, कालिका मन्दिर, पञ्चकोट, टेउवाको मूर्तिकला र गलकोट दरबार घुमेर जाने योजना बनाएको परियारले बताउनुभयो । यहाँका संरचनाको मर्मतसम्भार गरी व्यवस्थित बनाउन सके देशी तथा विदेशी पर्यटकलाई तान्न सकिने उहाँ बताउनुहुन्छ ।

“यो दरबारको बारेमा मैले युट्युबमा एउटा भिडियो देखेको थिएँ, भिडियो देख्दा यहाँ आउने रहर जागेको थियो, विदेशमा भएको हुँदा पहिले चाहेर पनि आउनु पाइएन”, जापान बस्दै आउनुभएका परियारले भन्नुभयो, “बागलुङ आएको बेला यहाँ भएका धार्मिक तथा पर्यटकीय ठाउँ घुमेर जाने हो ।”

गुल्मीको मुसिकोटबाट घुम्न आउनुआएका दिपेश गिरीले गलकोट दरबारको धेरै वर्षदेखि चर्चा हुँदै आएको भन्दै आफू पाँचौँ पटक यहाँ घुम्न आएको बताउनुभयो । उहाँ सामान्य कामले गलकोट बजारमाआएको बेला दरबारसम्म आएरै छोड्ने गरेको बताउनुहुन्छ ।

“पहिले त यहाँसम्म आउने सडक राम्रो थिएन, अहिले त सडक पनि राम्रो छ, दरबार हटिया बजार नजिकै भएर पनि होला, यहाँ धेरै मान्छेको चहलपहल हुँदो रैछ, हामी सानो हुँदादेखि नै मान्छेहरु गलकोट दरबार घुम्न जाने भन्दै आउँथे, अहिले पनि घुमफिर गर्न आउने धेरै हुने रहेछन्”, गिरीले भन्नुभयो, “म पाँच पटकसम्म यहाँ घुम्न आएँ, फेरि पनि मेसो मिले आउँछ, सडक राम्रो छ, यहाँ आउन धेरै समय पनि लाग्दैन ।”

स्थानीयका अनुसार यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक आउने गरेका छन् । बिदाको दिन अझ बढी आउने गरेको उनीहरुको भनाइ छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलकोट दरबारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको बताउनुभयो । दरबारले एउटा बिरासत बोकेको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको बताउनुहुन्छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “यो दरबार अहिले पनि व्यक्तिगत स्वामित्वमा रहेको छ, व्यक्तिगत स्वामित्वमा रहेको संरचनालाई हामीहरूले पनि मर्मतसम्भार गर्ने गरी छलफल गरेका थियौँ, अहिले केही जीर्ण बनेको छ, अहिले त्यसलाई मर्मत गर्न लाग्नुभएको छ ।”

दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा हुनुहुन्थ्यो । यहीबाट गलकोटको राजकाज चल्थ्यो । त्यो बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने गलकोटकै राजा भरतबम मल्ल हुनुहुन्थ्यो । उहाँ २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत हुनुभएको थियो ।

तत्कालीन राजा भरतबम मल्लका पनाती मञ्जेशबम मल्लले अहिले दरबारको संरक्षणमा जुट्नुभएको छ । उक्त दरबार मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधवबममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आउनुभएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो ।

राजा भरतबमका पनाती मञ्जेशबमले अहिले दरबारको मर्मतसम्भार गर्न थाल्नुभएको छ । उहाँले पछिल्लो समय दरबारमा पर्यटक आउन थालेको भन्दै जीर्ण बनेको दरबार पुरानै शैलीबाट मर्मतसम्भार गर्न लागेको बताउनुभयो ।

मल्लले भन्नुभयो, “दरबारलाई हामीहरूले पुरानै शैलीमा मर्मत गर्न थालेका छौँ, दरबारको तल्लो तलालाई सङ्ग्रहालयका रुपमा विकास गर्ने र माथिल्लो तलालाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरी पुनःनिर्माण हुँदैछ, यहाँ थप अरु संरचना पनि व्यवस्थितरुपमा निर्माण गर्ने गरी लागेका छौँ ।” रासस