६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

पर्यटन चिनाउँदै सामाजिक सञ्जाल

पर्यटन चिनाउँदै सामाजिक सञ्जाल
अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काइलो डाँडो । देशकै प्रमुख पृथ्वीराजमार्ग नजिकैको डाँडोमा चिलाउनेको रूखमाथि एउटा काठको घर बनाइएको छ । रूखलाई भित्रपट्टि पारेर काठले बनाइएको घर छ, दुई तलाको । छानोसमेत काठैले छाएको यो घरको नाम ‘ट्री हाउस’ राखिएको छ ।  

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्री हाउस’ यतिबेला भाइरल बनेको छ । फेसबुक र टिकटकमा देखेपछि म्याग्दे–३ जामुने निवासी इन्दु श्रेष्ठको मन पनि लोभियो । जसले पनि ‘ट्री हाउस’ पुगेको फोटो र भिडियो अपलोड गर्दा कहिले पुगूँ भएको थियो उहाँलाई । तस्बिर खिचाउनैका लागि भए पनि साथीसँग घुम्ने चाहना भएको उहाँले बताउनुभयो । “अरूको देख्दा आफूलाई पनि यहाँ फोटो खिच्ने धोको थियो त्यै भएर साथी मिलेर आयौँ”, उहाँले भन्नुभयो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँमा रूखमा बनाइएको घर नौलो गन्तव्य भएकाले धेरैको मन जितेको उहाँको बुझाइ छ । साथीभाइ र परिवारसँग ‘रिफ्रेस’ हुनलाई यो गन्तव्य उपयुक्त हुने उहाँले बताउनुभयो ।

इन्दु जस्तै सामाजिक सञ्जालमा देखेकै भरमा यहाँ घुम्न आउने आन्तरिक पर्यटक दैनिक बढिरहेका छन् । निर्माण सम्पन्न नहँुदै दैनिक दुई सयभन्दा बढी पर्यटक ‘ट्री हाउस’ घुम्न आउने गरेको ज्यानटाङ सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुर रानाभाटले जानकारी दिनुभयो । “रूखमा बनेको घर सम्पन्न भएको छैन । उद्घाटन पनि नहँुदै घुम्न आउने पर्यटक बढेका छन्”, उहाँले भन्नुभयो, “यति चाँडो यसरी पर्यटक बढ्लान् भन्ने अपेक्षा नगरिए पनि सामाजिक सञ्जालले ‘ट्री हाउस’ लाई पर्यटकीय गन्तव्य बनाउन सघाएको छ ।”

‘ट्री हाउस’ले जस्तै चर्चा बटुलेको छ म्याग्दे गाउँपालिका–५ थाङ्दीमा रहेको थाङ्दी झरनाले पनि । सुनसान खोँचमा रहेको झरनाको सुन्दरता नियाँल्न पुग्नेको यतिबेला दैनिक भीड छ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको तँछाडमछाड नै देखिन्छ ।

निषेधाज्ञाको समेत वास्ता नगरी आन्तरिक पर्यटक झरनामा पुगिरहेका छन् । कान्छी बाराही मन्दिरसँगै रहेको झरना आन्तरिक पर्यटकीय गन्तव्य बनेको छ । झरनाको दृश्य नियाँल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो छ । 

तीन वर्षदेखि चर्चामा आएको झरनामा यो वर्ष झनै पर्यटक वृद्धि भएको छ । पर्यटक बढ्नुको श्रेय सामाजिक सञ्जाललाई दिनुहुन्छ स्थानीयवासी अमृता भट्टराई । झरना पहिलेदेखि नै थियो तर गुमनाम थियो । पछिल्लो तीन वर्षमा सामाजिक सञ्जालकै भाषामा भन्ने हो भने भाइरल भयो । भट्टराई भन्नुहुन्छ, “टिकटक, फेसबुकले त भाइरल नै बनायो । जो आउँछन् टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । झरना राम्रो छ । टिकटक, फेसबुकमा हेर्ने जो कोहीलाई पनि लोभ्याउँछ र उनीहरु पनि घुम्न आउने क्रम बढ्दो छ ।”

शनिबार झरनामा आउने पर्यटकको भीडभाड अन्य दिनको तुलनामा बढी हुने उहाँले जानकारी दिनुभयो । “झरनामा आउने युवायुवती धेरै हुन्छन् । झरना आउनु धेरैको उद्देश्य हुन्छ फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्ने”, उहाँले भन्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता ह्वात्तै बढेका छन् । मानवजीवनको आधारभूत आवश्यकता जस्तै बनेको छ इन्टरनेट र सामाजिक सञ्जाल यतिबेला । बालकदेखि ज्येष्ठ नागरिकसम्म भेटिन्छन् सञ्जालमा । जीवनको अपरिहार्य आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको नकारात्मक पक्ष बढी चर्चा हुन्छ तर सकारात्मक पक्ष पनि उत्तिकै छन् । 

समाजमा लुकेका प्रतिभादेखि पर्यटकीय गन्तव्यलाई चर्चित बनाएर फेरबदल गर्नसक्ने क्षमता देखाएको छ सामाजिक सञ्जालले । सामाजिक सञ्जालकै कारण गुमनाम जस्तै तनहुँको मानुङकोट गत वर्षदेखि चर्चित पर्यटकीय गन्तव्यमा दर्ज भएको छ । टिकटक, फेसबुक, युट्युब र इन्स्टाग्रामले गत वर्षको दशैँपछि व्यास नगरपालिका–५ मा रहेको मानुङकोटलाई निकै चर्चित बनाइदियो । 

महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानुङकोटको डाँडो अवस्थित छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको मस्त दृश्यपान गर्न लालायित आन्तरिक पर्यटकको भीडले गत वर्ष इतिहास नै रच्यो । कोरोना कहरको बेवास्ता गर्दै एकै दिन दश हजारभन्दा बढी मानुङकोटको डाँडो उक्लिए ।

बादलमाथि हुने सूर्योदय र आफू एउटै सतहमा भएजस्तै देखिने तस्बिर सामाजिक सञ्जालभर छ्यापछ्याप्ती आउन थालेपछि देशभरका पर्यटक यहाँ ओइरिएका थिए । सायद हजाराँै वर्ष अगाडिदेखि नै सुन्दर थियो यो स्थान तर अहिले चर्चित बनाउने काम सामाजिक सञ्जालले गरे ।

मानुङकोटमा असोजदेखि फागुनसम्म पर्यटकको भीड नै रह्यो । सुनसान रहने मानुङकोटमा अरू समय पनि पर्यटक बढेको स्थानीय बताउँछन् । “हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि मानुङकोट पहिचान गरी पर्यटकीय गन्तव्य बनाउन जुटिरहेका थियौँ । पूर्वाधार निर्माणको चरणमा थियौँ । प्रचारप्रसारमा पनि हाम्रो ध्यान थियो तर गत वर्ष दशैँपछि पर्यटकको सङ्ख्या हवात्तै बढ्यो । यसरी एक्कासि पर्यटकको सङ्ख्या बढ्नुकाा कारण सामाजिक सञ्जाल नै हो,” व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले भन्नुभयो । 

सामाजिक सञ्जाल हुँदैनथे भने पर्यटकको सङ्ख्या थोरैले बढ्दै गए पनि यसरी एक्कासि नबढ्ने उहाँको विश्लेषण छ । सही सदुपयोग भए पर्यटन प्रवद्र्धनको गतिलो माध्यम सामाजिक सञ्जाल हुने मानुङकोटले पुष्टि गरेको श्रेष्ठ बताउनुहुन्छ । बसाइँसराइले रित्तिएको डाँडोमा पर्यटक बढ्न थालेपछि गाउँ फर्किने बढेका छन् । डाँडामा लगानी गर्न निजी क्षेत्रसमेत आकर्षित भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा पनि यो वर्षदेखि आन्तरिक पर्यटक भरिन थालेका छन् । भर्खर पहिचान भएको र पूर्वाधार विकासमा बामे सार्दै गरेको एक्लेडाँडाको फोटो, भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पर्यटक बढेका हुन् । बिहानको हिँडाइ (मर्निङवाक) देखि बेलुका टहल्नसमेत मानिसहरु यहाँ आउन थालेका छन् । दिउँसो साथीभाइसँग आउने पर्यटकको त झन् कुरै भएन । 

तनहुँको पर्यटनमा बन्दीपुर एउटा ब्रान्ड हो । बन्दीपुरबाहेक तनहुँमा घुम्ने ठाउँ छैन भन्ने धारणामा परिर्वतन ल्याइदिएको छ सामाजिक सञ्जालले । न्यून सङ्ख्यामा पर्यटक पुग्ने तर पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्लाको छिम्केश्वरी, आडीमूल, हिलेखर्क, ऐनापहरा झरना, बन्दीपुरको सिद्धगुफा, टुटेपानी, भिमादको सिद्ध गुफा र चमेरे गुफा, व्यास पराशर क्षेत्र, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, एक्लेडाँडा, भुजिकोट, मिलेनियम गुफा, ढोर मूलकोट दरबार, गलेखामकोटलगायतका गन्तव्यलाई प्रवद्र्धन गर्न सामाजिक सञ्जालले सघाएको छ । 

जिल्लाका केही होटेल व्यवसायीले पनि सामाजिक सञ्जाल केन्द्रित पूर्वाधार थपेर पाहुना आकर्षित गरिरहेको पाइन्छ । फोटो खिच्ने ठाउँ आकर्षित बनाउन सानाठूला सबै होटेलमा लगानी वृद्धि भइरहेको छ ।

पर्यटन प्रवद्र्धनमा पछिल्लो समय सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको पर्यटनविद् एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउनुहुन्छ । “कोभिडका बेला सामाजिक सञ्जाल झनै प्रभावकारी बनेको छ”, उहाँले भन्नुभयो, “तर कहिलेकाहीँ सामाजिक सञ्जालमा तस्बिर भिडियो देखेर पुगेका पर्यटकले सोचेअनुरुप नदेख्दा गलत सन्देश प्रवाह हुनसक्छ ।

पछिल्लो समय सञ्चारकर्मीको कलम र क्यामेराले समेत पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइरहेकाले पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको गुरुङले उल्लेख गर्नुभयो । “जति प्रचारप्रसार हुन्छ त्यति नै पर्यटक भित्रिन्छन्”, उहाँले भन्नुभयो, “कतिपय गन्तव्यमा सामाजिक सञ्जालमा भाइरल भएर पर्यटक आउन थालेपछि बल्ल पूर्वाधार विकासको चरण शुरु भइरहेको छ ।”

पर्यटन प्रवद्र्धनसँगै विपन्नको आडभरोसा पनि सामाजिक सञ्जाल बनेको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा आर्थिक सङ्कलन, भोकालाई खाना र नाङ्गालाई नानाको प्रबन्ध मिलाउनसमेत सामाजिक सञ्जाल प्रभावकारी ठहरिएको छ । वर्षैँदेखि हराएकालाई परिवारसँग पुनः मिलन गराउने माध्यम पनि सामाजिक सञ्जाल भएको छ । सामाजिक सञ्जालको सदुपयोग गर्दा यस्ता रचनात्मक काममा सहयोग पुग्ने यो एउटा गतिलो उदाहरण पनि हो ।

–कृष्ण न्यौपाने