१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल

आधुनिकताले छोएन पशुपालक किसानलाई

आधुनिकताले छोएन पशुपालक किसानलाई
अ अ+ अ-

ढोरपाटन । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन ।

एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् । एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन् । पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरु परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् ।

स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।”

उहाँले १८ भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आउनुभएको छ । उहाँले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेँडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउनुहुन्छ । उहाँ अहिले ५१ वर्ष हुनुभयो ।

“बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैँ निको हुन्छन् ।”

स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गर्दै आउनुभएको छ । उहाँ आफ्ना पुर्खाले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ ।”

उहाँले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिनुभएको छैन, तर पनि यो व्यवसायले उहाँलाई सन्तुष्टि दिएको छ । परम्परागत प्राणालीबाट पशुपालन गर्दै आउनुभएका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन । गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उहाँ आफैँ ओखतीमुलो गर्नुहुन्छ । अहिले उहाँको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन् ।

“माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्”, उहाँले भन्नुभयो, “सामान्य रोगको त उपचार म आफँै पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन् ।”

आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउनुहुन्छ । “यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौँ, कहिलेकाहीँ बाघको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ ।”

स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गर्नुभयो । सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । सुनारले भन्नुभयो, “हामीहरूलाई केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो ।”

पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांंश समय गोठमै बस्छन् । पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउनुहुन्छ ।

अर्का पशुपालक तुलबहादुर बुढामगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउनुहुन्छ । उहाँले धेरै भेँडाबाख्रा हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु, यति धेरैलाई खोरमा बाँध्न सम्भव नै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ ।”

उहाँहरूजस्ता निसीखोलामा सयौँ पशुपालक छन् । तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट दूरमा रहेका छन् । गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिङ्गो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो । रासस