३ आश्विन २०८१, बिहीबार
,
Latest
‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिबोधिनी एकादशी: देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा–टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति २ बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजा आजा एवं दर्शन गरेको उहाँले बताउनुभयो । साढे सात बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ ।

बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । यो कार्यक्रम गत कात्तिक १५ गतेदेखि नै सुरु भएको जनाइएको छ ।

तुलसीको विशेष पूजासहित विवाह गरिँदै

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको पुजारी शिवप्रसाद पौडेलले बताउनुभयो । जोरपाटीस्थित नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका विभिन्न नारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

नेपालीले आजै घर–घरमा तुलसीको विशेष पूजा गर्दैछन् । आज विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ । हरिबोधिनी एकादशीका अवसरमा दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा मेला लाग्ने भएकाले आज स्थानीय पर्व बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी दीपकुमार केसीले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

यसैगरी बूढानीलकण्ठ नगरपालिकाले पनि आज स्थानीय पर्व बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ ।रासस