२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?



file photo
अ+ अ-

बेलबारी । निर्वाचनको मिति मङ्सिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङको छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक मतदाताले रोचक ढङ्गले नियालिरहेका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उहाँकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएको छ । यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा रहनुभएको छ । तीमध्ये कोइराला र नेकपा (एमाले) का ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ ।

हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जित्नुभएको थियो  । विसं २०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी हुनुभएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उहाँका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थाम्नुभएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले उपाध्यायलाई तीन सय ५८ मतले पराजित गर्दै विजयी बन्नुभएको थियो । विसं २०७४ को निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका पोखरेललाई पराजित गर्दै कांग्रेसको साख फर्काउनुभएको थियो ।

एक लाख २४ हजार सात सय २९ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नं १, २ र ३ सहित २९ वटा वडा छन् । यो निर्वाचन क्षेत्रको प्रदेश १ मा ६१ हजार ५८ कूल मतदाता सङ्ख्या रहेकोमा महिला मतदाताको सङ्ख्या २९ हजार दुई सय ४३ रहेको छ ।

त्यस्तै प्रदेश २ तर्फ ६३ हजार छ सय ७१ कूल मतदाता सङ्ख्या रहेकोमा ३० हजार पाँच सय ६५ महिला मतदाता सङ्ख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत नगेन्द्र केसरी पोखरेलले जानकारी दिनुभयो । क्षेत्रभरि जम्मा ६८ मतदान केन्द्र रहने निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ ले जनाएको छ ।

झापासँग सिमाना रहेको रतुवा, बीचमा बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका बासिन्दा हरेक वर्षायाममा नदी कटान र डुबानको मार खेप्न बाध्य छन् । खोलाको कटान र डुबान नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेको छ ।

क्षेत्र नम्बर २ को प्रदेश १ मा प्रदेशसभा सदस्यमा तीन स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा उम्मेदवारी परेको छ । तीमध्ये नेकपा ९माओवादी केन्द्र० का गणेश उप्रेती र एमालेका दानबहादुर कार्कीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । उप्रेती अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हुँदा कांग्रेसका शिवकुमार गनगाईसँग पराजित हुनुभएको थियो ।

त्यसैगरी प्रदेश क्षेत्र २ मा दुई स्वतन्त्रसहित १० जना उम्मेदवार रहनुभएको छ । तीमध्ये एमालेका लीलाबल्लभ अधिकारी र कांग्रेसका विनोद कार्कीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

गत स्थानीय निर्वाचनको मतगणनाअनुसार यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन चार हजार पाँच सय मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार तीन सय ३० मत ल्याउँदा कांग्रेसले २८ हजार छ सय १७ र माओवादी केन्द्रले सात हजार दुई सय ७१ मत पाएका थिए ।