५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ

सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ
अ+ अ-

रेसुङ्गा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली ।

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहनुभएको छ । उहाँको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरेर घाँस खेती गर्नुभएका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउनुहुन्छ । उहाँले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउनुहुन्छ ।

उहाँले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख रुपैयाँभन्दा बढी पु-याउनु भएको छ । उहाँले गत जेठदेखि भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गर्नुभएको हो । उहाँसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गर्नुभयो ।

उहाँसँग अहिले रु ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन् । उहाँले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ । सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिनुभएको छ । बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गर्नुभएको छ ।

उहाँले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताउनुभयो । नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राख्नुभएको छ । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गर्नुभएका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउनुहुन्छ ।

रोजगारी सिर्जना

गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०÷१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् ।

यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्नुहुन्छ । ‘‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ”, गोकर्णले भन्नुहुन्छ । उहाँले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गर्नुभयो । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उहाँले झेलिरहेनुभएको छ ।

गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउनुहुन्छ । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उहाँले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देख्नुभयो । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उहाँको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उहाँले बताउनुभयो ।

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उहाँको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउनुहुन्छ । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनु भएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहनुभयो । उहाँ हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउनुहुन्छ ।

मोटरसाइकल बेचेर लगानी

गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्नुहुन्थ्यो । केही गर्ने हुटहुटीले उहाँले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गर्नुभयो । उहाँले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोप्नुभयो । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल हुनुभयो । उहाँले यसलाई सफलताको रूपमा लिनुभएको छ ।

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आफू घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताउनुभयो । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो ।

“मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ”, गोकर्णले भन्नुभयो । घाँस खेती गरेर अन्य पालिकामा निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उहाँको भनाइ छ ।

पागलको उपनाम पाएँ

ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । “सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन्”, गोकर्णले भन्नुभयो । कर्मबाट प्रतिक्रिया दिने अठोट बोक्नुभएका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउनुहुन्छ । “सुरुआती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ”, उहाँले भन्नुभयो ।

गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताउनुभयो । “वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ ।” छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उहाँको भनाइ छ । परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्णले बताउनुहुन्छ ।

हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उहाँ अरूलाई सुझाउनुहुन्छ । सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उहाँको जोड छ । “सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।” श्रम गर्न हिच्किचाअट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उहाँले बताउनुभयो ।

खेस्रामा पनि अब्बल गोकर्ण

गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा (स्केच) तयार पार्नेका रुपमा आफूलाई परिचित समेत गराउनुभएको छ । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताउनुभयो ।

उहाँले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टाई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गर्नुभएको छ ।

उहाँले खासगरी आफलाई प्रेरणा मिल्ने व्यक्तिहरुको स्केच तयार गर्ने गरेको बताउनुभयो । गोकर्णले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उहाँहरुलाई उपलब्ध गराइसक्नुभएको छ ।

सन्तोष महतारा /रासस