• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

बुटवलको मुख्य बजारमा पार्किङकै समस्या



बुटवल । बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार व्यवसाय खस्किँदै गएको छ । बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइनलगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ ।

यसका कारण सो क्षेत्रमा बजार गर्न आउनेको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको अमरपथस्थित खनाल साडीका सञ्चालक करुण खनालले बताउनुभयो । “एक जना मेरो नियमित ग्राहक सपिङका लागि आउँदा गाडी पार्किङ गर्ने ठाउँ पाउनु भएनछ”, उहाँले भन्नुभयो, “यहाँ घुम्दाघुम्दा पार्किङ गर्ने ठाउँ नपाएर उहाँ मणिग्राम पुग्नुभएछ ।”

अमरपथका पुराना व्यापारी रजनी इम्पोरियमका सञ्चालक महेश्वर श्रेष्ठ पनि विगतको तुलनामा व्यापार खस्किँदै गएको बताउनुभयो । “हाम्रा ग्राहक गाडी मोटरसाइकलमा आउनुहुन्छ, यहाँ पार्किङ गर्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “पार्किङकै समस्याका कारण हाम्रा नियमित ग्राहक पनि आउन छाड्नुभएको छ ।”

पार्किङ समस्याका कारण मात्रै यहाँको व्यापार खस्किएको भने होइन । सीमावर्ती सुनौली बजारमा नेपाली उभोक्ताको लाइन लागेका कारण पनि यहाँका व्यापार खस्किँदै गएको उहाँ बताउनुहुन्छ । व्यापार खस्किँदै गएपछि व्यवसाय धान्न पनि धौधौ भएको अधिकांश व्यापारी व्यवसायीको भनाइ छ ।

बुटवलको मुख्य बजार क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि पार्किङको समस्या बढ्दै गएको छ । बुटवलमा जनघनत्व बढ्दै जाँदा खाली जग्गा पनि सकिँदै गएको छ भने सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ । यस कारणले बुटवलमा पार्किङको समस्या बढ्दै गएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो । “हामीले पार्किङ समस्याको समाधान गर्न सकेनौँ भने यहाँको व्यापार अन्यत्र स्थानान्तरण हुनेछ”, उहाँले भन्नुभयो, “यो समस्या समाधानका लागि हामीले केही सोच बनाएका छौँ, यसमा सबैको साथ र सहयोग चाहिन्छ ।”

बुटवलमा पार्किङको समस्या समाधानका लागि पुराना भवनलाई पुनःनिर्माण गरी अन्डरग्राउण्ड दुई तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोच बनाएको उहाँले जानकारी गराउनुभयो । त्यसका लागि पिपिपी मोडल उपयुक्त हुने उहाँको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा अहिले अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । मुख्य बजारको पार्किङ समस्या समाधानका लागि लुम्बिनी प्रादेशिक अस्पतालको जग्गामा बनाइएको अस्थायी पार्किङ क्षेत्रभन्दा अगाडि सवारीसाधनलाई प्रवेश गर्न नदिने र त्यस क्षेत्रका व्यापारी व्यवसायीले पनि सामान लोड–अनलोड गर्ने काम रातिको समयमा गर्ने गरी व्यवस्था मिलाउने हो भने केही हदसम्म पार्किङ समस्या समाधान हुने स्थानीय शम्भु श्रेष्ठले सुझाव दिनुभयो ।