१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागपुर टी–२०ः भारतले अष्ट्रेलियालाई हरायो, सिरिज १–१ को बराबरीमा



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । नागपुरमा गएराति भएको खेलमा भारतको यो जितसँगै सिरिज पनि १–१ को बराबरीमा पुगेको छ ।

तीन खेलको टी–२० सिरिजको निर्णायक सेप्टेम्बर २५ मा हैदरावादमा हुनेछ । भिजेको मैदानका कारण दुई घण्टा ४५ मिनेट ढिलो टस भएको खेललाई पावरप्ले दुई ओभरको झारिएको थियो भने एक बलरले दुई ओभर मात्रै बलिङ गर्नु पर्ने थियो ।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले आठ ओभरमा पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले २० बलमा ४३ रनको अविजित इनिङ्स खेले । यस्तै, आरोन फिन्चले १५ बलमा ३१ रन बनाए । भारतका अक्षर पटेलले दुई विकेट लिए ।

जवाफमा भारतले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पछ्यायो । कप्तान रोहित शर्माले २० बलमा ४६ रनको अविजित इनिङ खेले । यस्तै, दिनेश कार्तिकले आठौं ओभरमा छक्का र चौका प्रहार गर्दै खेल समाप्त गरे ।

भारतले पाँच वर्षपछि घरेलु मैदानमा अष्ट्रेलियालाई टी–२० खेलमा पराजित गरेको छ । पछिल्लो पटक भारतले सन् २०१७ मा अष्ट्रेलियालाई टी–२० खेलमा पराजित गरेको थियो । यसपछि अष्ट्रेलियाले २०१९ मा विशाखापट्टनम र बैंगलोरमा भएको दुई खेलको सिरिज २–० ले जितेको थियो । यस्तै, मोहालीमा भएको खेलमा अस्ट्रेलियाको टोली विजयी भएको थियो ।