• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

एएफसीद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना



काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जरिवाना गरेको छ ।

एएफसीले कुवेतमा भएको एएफसी एसियन कप छनोटको क्रममा प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४ इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलअघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।

यस्तै, कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए ।

त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।

जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने एएफसीले जनाएको छ ।