नवलपुर । नवलपरासीमा पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पूर्व हुप्सेकोटमा विहीबार राति पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका थिए ।
पहिरोमा परि मृत्यु हुनेमा ४० बर्षीया धनमाया पुलामी, नातिनीहरु ६ वर्षकी देउमाया र ७ वर्षिया भूमीसरा पुलामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिंहका अनुसार पहिरोमा बेपत्ता भएका तीनै जनाको शव शनिबार दिउँसो फेला परेको हो । उनका अनुसार शनिबार पहिरो पन्छाएर शव निकालिएको छ ।
प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले शुक्रवार दिनभरको खोजतलास गर्दा फेला पार्न नसकेपछि शनिबार बिहानबाट पुनः खोजतलास गरिएको थियो ।