९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो
अ अ+ अ-

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मङ्गलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो । बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन् । कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन ।

बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भन्नुभयो, “जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो । ” जात्रामा बाघ, डाक्टर, नर्स, शिकारी, पहलवान, राजाको भूमिकामा बन्दीपुरका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।

कोभिड–१९ को जोखिमका कारण विगत तीन वर्षदेखि ननिकालिएको बाघजात्रा यो वर्ष निकालिएको खड्गमाई सांस्कृतिक समूहका अध्यक्ष गेहेन्द्र कायस्थले जानकारी दिनुभयो । संस्कृति संरक्षणका लागि बाघजात्रा निकालिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “ऐतिहासिक संस्कृति संरक्षणका लागि हामी सधैँ क्रियाशील छौँ ।” बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । भक्तपुरबाट बन्दीपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ ।

उनीहरूले बन्दीपुरमा व्यापारमात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन् । बन्दीपुरका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डी भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका जनाइएको छ । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । भक्तपुरबाट उनीहरूमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो । सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।