९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

काभ्रेमा महामारीजन्य रेबिज सङ्क्रमणको जोखिम बढ्दै

काभ्रेमा महामारीजन्य रेबिज सङ्क्रमणको जोखिम बढ्दै
अ अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको सङ्क्रमणबाट पशु–चौपाया तथा मानिस समेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि भुम्लु गाउँपालिका–१ सापिङमा रेबिजबाट पशु–चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई सय १२ स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाएको छ ।सात दिनपछि दोस्रो मात्रा खोप लगाइने तयारीसमेत भएको जनाइएको छ । प्राणघातक मानिएको सो रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एकै महिनामा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो ।

दुई हप्ताअघि सापिङमा रेबिजबाट केही भैँसी र बाख्रा मरेकामा स्थानीयवासीले केहीलाई पुरेका े र केही काटेर खाएका कारण बाख्रा र भैँसीको मासु खाने छिमेकी टोलसमेतका व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिनुभयो । “मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ”, उहाँले भन्नुभयो । कार्यालय प्रमुख डा सेढाईंले हालसम्म मानिसमा कुनै लक्षण नदेखिएको तर खोपसहित निगरानीमा भने राखिएको बताउनुभयो ।

उक्त गाउँमा एक महिनाअघि दुई कुकुर र केही बाख्रा मरेको जनाइएको छ । हाल केही स्थानीयवासीको भैँसीले ¥याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । “त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ”, केन्द्रप्रमुख पशु चिकित्सक राजकुमार हुमागाईंले भन्नुभयो । उहाँका अनुसार केही भैँसी बिरामी भएको खबर प्राप्त भएकाले पुनः आज पशु चिकित्सकको टोली त्यसतर्फ पठाइएको छ ।

यसअघि गत असार अन्तिम साता पनौती नगरपालिका–३ कुशादेवी सिमसारका १० जनालाई रेबिजविरुद्धको दुई मात्रा खोप लगाइएको थियो । स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरुलाई घरमै निगरानी गरेको थियो । रेबिजबाट मृत्यु भएका युवाको सम्पर्कमा रहिआएका परिवारका सदस्यलगायतलाई ‘मात्रा’अनुसार खोप लगाइएको थियो ।

कुशादेवी स्वास्थ्य चौकीका प्रमुख प्रभुनारायण साहका अनुसार रेबिजका कारण गत असार २३ गते स्थानीय २३ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको थियो । उनका सम्पर्कमा आएकालाई घरमै निगरानीमा राखी दोस्रो खोप लगाइएको उहाँले बताउनुभयो । यसैगरी करिब छ महिनाअघि भक्तपुरको पाण्डु बजारमा सापकोटालाई कुकुरले टोकेको थियो । कार्यालय प्रमुख डा सेढाईंले घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण रहिरहने देखिएको बताउनुभयो । गत वर्ष चौँरीदेउराली गाउँपालिका–६मा कुकुरले टोकेका एक आठ वर्षीय बालक र दुई पुरुषको एक महिनापछि उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको माघमा धुलिखेल नगरपालिका–४ का २२ वर्षीय एक युवकको रेबिज रोगबाट मृत्यु भएको थियो । ती युवकले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखिएको थियो । युवकसहित मृत्यु भएका चारैजनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजकै कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईको समेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेकोे थियो।

एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षणसमेत गरेको थियो । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा त्यसबेला पनि रेबिजविरुद्ध दुई सयलाई भ्याक्सिन लगाइएको थियो ।

रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका प्रमुख नगर बनेपा, धुलिखेल र पनौतीमा गरेको सर्वेक्षणमा सात हजार पाँच सय सामुदायिक तथा छाडा कुकुर रहेको तथ्याङ्क सङ्कलन गरिएको थियो । तीमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरणसमेत गरिएको पशु चिकित्सक हुमागाईंले बताउनुभयो । “बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा भ्याक्सिन राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रेबिजको भाइरस हुने र तिनको टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्छ । नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालहरुबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । रासस