९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

ऐतिहासिक भोजपुरको टक्सार बजारका धातु उद्योग सङ्कटमा

ऐतिहासिक भोजपुरको टक्सार बजारका धातु उद्योग सङ्कटमा
अ अ+ अ-

भोजपुर । यहाँको ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग सङ्कटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने पेशा सङ्कटमा पर्दै गएको हो । बसाइँसराइ तथा दक्ष जनशक्तिको अभावले पनि उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुगेको स्थानीयवासीको भनाइ छ ।

राणाकालीन समयदेखि सञ्चालनमा आएका यहाँका उद्योगले त्यो समयमा लाखौँ मूल्यका धातुका सामग्री उत्पादन गर्दै आएका भए पनि अहिले अधिकांश बन्द हुँदै गएका छन् । तत्कालीन समयमा रामप्रसाद राई गाउँपालिकाको धोद्लेखानीमा रहेको खानीबाट तामा ल्याएर सामग्री बनाउने चलन थियो । अहिले त्यो खानी पनि बन्द भइसकेको छ ।

विगतमा विभिन्न धातुका सामग्री बनाउने २२ उद्योग रहेकामा अहिले सात मात्र सञ्चालनमा रहेको धातु उद्योग सञ्चालन गर्दै आउनुभएका स्थानीय व्यवसायी विमलकुमार शाक्यले जानकारी दिनुभयो । सातमध्ये दुईले तामा र पिलतका भाँडाकुँडा बनाउछन् भने अन्य पाँच उद्योगले काँसका भाँडाकुँडा बनाउने गरेको व्यवसायी शाक्यले बताउनुभयो ।

“यहाँका पराम्परागत धातु उद्योग सङ्कटमा पर्दै गएका छन्”, व्यवसायी शाक्यले भन्नुभयो, “मुख्य गरेर पुस्तान्तरण गर्न नसक्दा व्यवसाय सङ्कटमा पर्ने देखिन्छ, विगतमा २२ को सङ्ख्यामा रहेका उद्योग अहिले सातमा सिमित भएका छन् ।”

नयाँ पुस्तामा छिटो लाभ लिने व्यवसायप्रति मोह बढेका कारण यस्तो पेशा गर्न नरुचाउने उहाँको भनाइ छ । बाबुबाजेले गरेको काम आफुले गरिरहेको भए पनि अबको तेश्रो पुस्ताले यो पेशा गर्न नचाहेको शाक्यले बताउनुभयो । नयाँ प्रविधिको विकास गरेर नयाँ पुस्तालाई सिकाउन सके व्यवसायलाई बचाउन सकिने शाक्यले बताउनुभयो । शाक्यले भन्नुभयो, “कोइलाको प्रयोग गरेर हातको सहायताले काम गर्नुपर्ने भएकाले मेहनत निकै छ, यसलाई अहिलेको प्रविधिअनुसार सञ्चालन गर्न सके नयाँ पुस्तालाई सिकाउन सकिन्थो जस्तो लाग्छ ।”

शाक्यले १० वर्षको उमेर हुँदा विसं २०३५ बाट धातुको काम गर्दै आएको बताउनुभयो । वार्षिक कारोबार रु १२ देखि १५ लाखको भए पनि आम्दानी भने रु तीनदेखि चार लाखसम्म हुने उहाँको भनाइ छ । हातको सहायताले विभिन्न धातुका सामग्री बन्ने भएकाले यहाँ उत्पादन भएका सामग्रीको छुट्टै महत्व रहेको छ । राणा शासनकालदेखि प्रसिद्धि कमाएका टक्सार धातु उद्योग बन्द हुँदै गएपछि बजार क्षेत्रसमेत सुनसान देखिन्छ । यहाँ बनेका धातुका सामग्रीको बजार माग भने धेरै रहेको व्यवसायी बताउँछन् ।

दक्ष जनशक्ति तथा श्रोतसाधनको अभावका कारण देशकै पुरानो धातु उद्योगहरु मध्येको टक्सारका धातु उद्योग सङ्कटमा पर्दै गएकोप्रति स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । टक्सारका धातु उद्योग र टक्सारको मौलिक पहिचानलाई जीवित गराउन सरकार तथा स्थानीयस्तरबाट अभिप्रेरित गराउनुपर्ने स्थानीयको माग छ । मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक श्रोतसाधन उपलब्ध गराउन जरुरी रहेको स्थानीयवासी कुमारप्रसाद श्रेष्ठले बताउनुभयो ।

“यहाँका उद्योग सङ्कटमा पर्दै गएका छन्”, उहाँले भन्नुभयो, “संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ, प्रविधिको प्रयोग गरेर पुस्तान्तरण गर्न सके पेशालाई जीवन्त राख्न सकिन्छ ।” यहाँ काँसको करुवा, डाडुपन्यू, कसौडी, आङ्खोरा, बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री, खड्कुला, तसला बन्ने गरेका छन् । यहाँका भाँडा बनाउन धरान, विराटनगर, काठमाण्डौँलगायत ठाँउबाट आवश्यक पर्ने काँससहितका कच्चा पदार्थ ल्याइने गरिएको छ ।

दश वर्ष अघितिर वनले कोइला (गोल) काट्न रोक लगाएकाले धेरै व्यवसायीले पेशा छाडेको व्यवसायी प्रेम उदासले बताउनुभयो । त्यो समयमा कोइलाको धेरै अभाव भएको उहाँले अनुभव सुनाउनुभयो । अहिले भने सबै व्यावसायी मिलेर वनसँग सम्झौता गरेर कोइला ल्याउने गरेकोले अभाव नरहेको उहाँको भनाइ छ ।

हातको सहायताले निर्माण गरिएको एक नम्बर काँसको करुवा प्रतिकिलो रु तीन हजार पाँच सयमा बिक्री हुनेगरेको छ । करुवाको तौलअनुसार मूल्य फरक पर्ने उहाँको भनाइ छ । विभिन्न बुट्टा बनाएर करुवा बनाइने भएकाले टक्सारे करुवाको माग बढी रहेको उहाँको भनाइ छ ।

यहाँ उत्पादन भएका करुवा, कचौरा, थाललगायत अत्यधिक माग भए पनि पूरा गर्न समस्या रहेको उदासको भनाइ छ । यो व्यवसायबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने गरेको उहाँले बताउनुभयो । “राम्ररी काम चलेमा मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ”, उदासले भन्नुभयो । दक्ष जनशक्ति नहुँदा बजार मागलाई धान्न नै समस्या छ । पछिल्लो समय ठूलाठूला करुवा, पानसलगायत माग धेरै छ ।रासस