हेटौंडा । एमालेबाट विभाजित भई बनेको नवगठित दल नेकपा एकीकृत समाजवादीले वागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ ।
नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
सरकार जोगाउने कुनै बाटो नभएको भन्दै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।
यस्तै पार्टीले आफूलाई नै अगाडि सारेको र सत्तारुढ गठबन्धनमा पनि सहमतिको उम्मेदवार रहेको उनले दाबी गरे ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।