काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारत विजयी भएको छ । आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारत २–१ गोलले विजयी बनेको हो । भारतलाई जित दिलाउन खेलको ६२ मिनटेमा फारुक चौधरीले तथा ८० औं मिनेटमा सुनील क्षेत्रीले गोल गरे ।
पहिलो हाफमा घरेलु टिम नेपालले खेलमा दबाब राखेको थियो । खेलको १२ औं मिनेटमा मनिष डाँगीले गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए ।
यता खेलको २३ औं मिनेटमा भारतका अनिरुद्ध थापाले गोल गर्ने अवसरलाई नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट क्लियर गरेका थिए ।
२६ औं मिनेटमा नेपालले थप अर्को अवसर पाएको थियो । आयुष घलानले हेडमार्फत गोल गर्ने राम्रो अवसर खेर फाले । उनी मार्कमा रहेपनि बललाई भेट्न भने असमर्थ रहे ।
नेपालका गोलकिपर किरण चेम्जोङले लङ रेन्जमा फालेको बल आयुष घलानले पुनः गोल गर्ने अवसर पाएका थिए । वान टु वान मार्कमा रहेका घलान गोल गर्न चुके ।
यता दोस्रो हाफमा भारत खेलमा फर्कियो । नेपालका लागि खेलको ६७ औं मिनेटमा विशाल राईले गोल गर्ने सुनौलो अवसर खेर फाले । सब्सीच्युटको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले दिएको उत्कृष्ट पासलाई उनी गोल गर्न चुके । उनले वान टचमा प्रहार गर्नुपर्ने बल होल्ड गरेर मिलाएर हान्न लाग्दा चुकेका हुन् ।
यस्तै ७२ औं मिनेटमा अन्जन विष्टले क्रस गरेको बललाई मार्कमा रहेका मनीष डाँगीले गोल गर्ने राम्रो अवसर पाएपनि उनी असफल रहे । नेपाललाई बराबरी गर्ने सुनौलो अवसर उनले खेर फाले ।
८६ औं मिनेटमा तेज तामाङले डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काए । त्यसपछि थप गोल हुन नसक्दा खेल भारतको पक्षमा गयो । यसअघि बिहीबार नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए ।