२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी जिल्लाका प्रजिअ एवं सहसचिव रुद्रा शर्माको कार्यसम्पादन उत्कृष्ट



अ+ अ-

काठमाडौंः
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७७/७८ को देशभरका प्रमुख जिल्ला अधिकारीहरु (प्रजिअ)को कार्यसम्पादन मूल्याँकन गरी नतिजा सार्वजनिक गरेको छ । मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौता बमोजिम देशभरका प्रजिअमध्ये गुल्मी जिल्लामा रहनु भएका प्रजिअ रुद्रादेवी शर्माले तृतीय स्थान हासिल गरी उत्कृष्ट कार्यसम्पादन गर्नु भएको गृह मन्त्रालयले जनाएको छ ।

गुल्मीमा हाल सहसचिव रुद्रा शर्मा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत हुनुहुन्छ ।

गृह मन्त्रालयले नतिजा सार्वजनिक गरेलगत्तै प्रजिअ शर्माले कार्यसम्पादनमा गुल्मी जिल्ला तेस्रो स्थानमा आएकामा खुशी लागेको जनाउँदै कार्यसम्पादनमा सहयोग गर्ने कार्यालयका कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद दिनु भएको छ ।

मन्त्रालयले मूल्याँकन गर्दा कार्यसम्पादन सम्झौताको छ विषयगत क्षेत्रहरु शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम नियन्त्रण र व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय तथा आर्थिक अनुशासनलाई ध्यानमा राखेको थियो ।

मन्त्रालयले गरेको समग्र मापनमा झापा, अर्घाखाँची र रुकुम (पूर्व) जिल्लाहरु अति उत्कृष्ट सहित प्रथम, ललितपुर र रुकुम (पश्चिम) उत्कृष्ट कार्यसम्पादन सहित द्वितीय तथा गुल्मी जिल्ला उत्कृष्ट कार्यसम्पादन सहित तृतीय भएको थियो ।

कार्यसम्पादनमा अब्बल देखिएका जिल्लाका प्रजिअहरुलाई प्रदेश स्तरीय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने पनि मन्त्रालयले जनाएको छ ।

साथै, उत्कृष्ट कार्यसम्पादन भएका जिल्लाहरुको संख्या ११ रहेको तथा उत्तम, मध्य र न्यून कार्यसम्पादन स्तर भएका जिल्लाहरु क्रमशः १८, २१ र २१ वटा रहेको पनि मन्त्रालयको भनाई छ ।

वि.सं. २०७५ देखि गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता गरी सोको वार्षिक मूल्याँकन पद्धति विकास गरी कार्यान्वयनमा ल्याइएको छ ।