१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैंकक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।

थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।

श्रीलङ्कन एयरलाइन्सले उडान थप्यो

श्रीलङ्कन एयरलाइन्सले सातामा सातवटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जिएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतबार, सोमबार, मङ्गलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो ।

कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ । प्राधिकरणका अनुसार हाल टिआइए भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यिमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् । टिआइएमा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।