७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी ?

बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी ?
बलेवा विमानस्थल
अ+ अ-

बागलुङ । बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आज यहाँस्थित बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ ।

विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताउनुभयो । “विमानस्थलको स्थलगत अध्ययन, अवलोकन ग¥यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयारी अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारले कराडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्नहुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ ।” उहाँले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनीलगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना पनि बनाउनुपर्ने धारणा राख्नुभयो । छलफलका क्रममा सुझाव राख्दै बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हरहालतमा विमानस्थल चलाउनुपर्ने बताउनुभयो । “नियमित सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति गर्न सकियो भने विमानस्थल चल्छ”, उहाँले भन्नुभयो, “सबै पूर्वाधार बनेको अवस्थामा अब कसरी हुन्छ विमानस्थल चलाउनेतिर सोचौँ, पहल थालौँ ।”

बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले यसअघि विसं २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गर्नुभयो । “व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन”, सचिव चोखालले भन्नुभयो, “धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफै उकासिन्छ ।”

बागलुङ उद्योग वाणिज्य सङ्घका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मातर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव राख्नुभयो । “कुश्माबाट यान्त्रिक पुलहुँदै यात्रुलाई विमानस्थल पु¥याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

विमानस्थल जोड्ने पहुँचमार्गको स्तरोन्नति या कालोपत्र पर्खन थाल्ने हो भने फेरि केही वर्ष विमानस्थल बन्दै अवस्थामा राख्नुपर्ने उपमहासचिव सुवेदीले बताउनुभयो । बागलुङको मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ । वर्षात्का बेला त उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ । सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ ।

बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले यसअघि धावनमार्ग कच्ची हुनु, चर्को भाडादर र पहुँच मार्गस्तरहीन हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको बताउनुभयो । विमानस्थल सोही वडामा पर्दछ । “अहिले धावनमार्ग कालोपत्र भइसकेको छ, अब विमानस्थलसम्म आउजाउका लागि सहज यातायातको खाँचो छ, यात्रुको सुनिश्चितता दिएर विमान कम्पनीलाई आकर्षण गर्न सकियो भने विमानस्थल नियमित चल्छ”, उहाँले भन्नुभयो । यसअघि नगरले आफ्नै पहलमा विमानस्थल सञ्चालनमा ल्याएपनि यात्रु सङ्ख्या घट्दै गएपछि विमानस्थल बन्द हुन पुगेको वडाध्यक्ष खत्रीको भनाइ छ ।

बागलुङ नगरका उपप्रमुख राजु खड्काले विमानस्थल नियमित सञ्चालन गर्न नगरकोतर्फबाट सबैखाले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी सबै पक्षसँग बसेर विमानस्थल सञ्चालनको छुट्टै योजना निर्माण गर्छौँ, उहाँले भन्नुभयो, “नगरको गौरव र प्रतिष्ठासँग पनि जोडिएको विषय भएकाले हामी यसमा संवेदनशील छौँ ।”

सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो ।

नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो ।

केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए ।

विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन । विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो । सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए । यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो । पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ । विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ ।

अब त विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीयवासी छन् । तर, विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुङ्गो भने लागेको छैन । रासस