२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाकामनामा असिनाले तरकारी र मकै बाली नष्ट



अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पुर्याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पुर्याएको हो ।

बेच्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु एक लाख ५० हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको बताउनुभयो । एकदिन अघि मात्र केही काँक्रो बेच्न भ्याउनुभएका प्रजाले धेरैजसो बाँकी रहेको काँक्रो असिनापानीले नष्ट गरिदिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “हिजो मात्र केही बेचेँ धेरैजसो काँक्रो बेच्न बाँकी नै थियो, सबै नष्ट भयो, बेच्ने बेला भएको काँक्रो, बोडी, सिमी र खुर्सानी गरी रु एक लाख ५० हजार बढी मूल्य बराबरको तरकारी बाली नष्ट भएको छ ।” कृषक प्रजाका अनुसार मायाटार र दुम्किम गाउँमा रहेका ४५ घरधुरीमध्ये २५ भन्दा बढी परिवारले तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आएका किसान चिन्तित बनेका छन् । असिना पानीले मकै बाली पनि नष्ट गरेकाले चाँडै अनिकाल लाग्ने उहाँले बताउनुभयो ।

प्रजाले भन्नुभयो, “राम्रोसँग मकै खेती हुँदा छ महिनासम्म खान पुग्थ्यो तर यस पटक चाँडै अनिकाल लाग्ने भयो, घोगा लागेको धेरैजसो मकै नष्ट भएको छ, दुई महिनामै अनिकाल लाग्ने भएको छ । ”

गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले अहिलेसम्म गाउँपालिकाभरका किसनाले लगाएको तरकारी र मकैबालीमा असिना पानीले कति क्षति पुर्यायो भन्ने एकीन तथ्याङ्क आइनसकेको बताउनुभयो । अहिले कहाँ कति क्षति भयो किसानसँग सम्पर्क गर्ने काम भइरहेको उहाँको भनाइ थियो । शाखाप्रमुख घिमिरेले गाउँपालिकाले बजेटको व्यवस्था गर्दा पनि किसानले तरकारी बालीको बीमा गर्न रुचि नदेखाउँदा समस्या भएको बताउनुभयो । तरकारी बालीका लागि प्रक्रिया झझन्टिलो हुँदा बीमा गर्न किसान र बीमा कम्पनीले नै चासो नदेखाएको उहाँले जानकारी दिनुभयो ।

शाखाप्रमुख घिमिरेले भन्नुभयो, “हामीले अभियान नै चलायौँ, गत वर्ष गाउँपालिकाले नै केही बजेटको व्यवस्था पनि गरेको थियो, बीमा गर्ने भनिएका सम्बन्धित बीमा कम्पनी नै आएनन् , तरकारी बालीको बीमा गर्न पशुमा जस्तो सजिलो छैन, त्यस कारणले किसान र बीमा कम्पनीले चासो नदेखाएका हुन ।” गाउँपालिकाका अधिकांश किसान तरकारी र मकैबालीमा निर्भर छन् ।