२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन सिकार आरक्षमा सत्र नाउर र आठ झारलको सिकार



अ+ अ-

बागलुङ । ढोरपाटन सिकार आरक्षमा वर्षमा दुई याम सिकार खुल्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम पनि सकिएको छ ।

यो वर्ष १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा १० नाउर र छ झारलको सिकार कोटा तोकिएकामा नौ नाउर र तीन झारलको मात्र सिकार गरिएको थियो ।

यस्तै पछिल्लो याममा आठ नाउर र पाँच झारलको सिकार भएको कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो यामका लागि नौ नाउर र छ झारलको सिकार कोटा तोकेको थियो । उक्त याममा सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसनले सबैभन्दा बढी सिकार खेलाएको थियो । त्यस कम्पनीमार्फत् फ्रान्सका तीन, अमेरिका र डेनमार्कका एक/एक जना सिकारी ढोरपाटन पुगेका थिए ।

उनीहरुले गत चैत ६ देखि वैशाख ७ गतेसम्मको अवधिमा सुनदह, दोगाडी, बार्से, फागुने र सेङ ‘ब्लक’मा सिकार खेलेका थिए । दोस्रो याममा सिकार कम्पनी हिमालयन सफारिजले मेक्सिकोका दुई र नर्वेका एक सिकारीलाई ढोरपाटन पु¥याएको थियो ।

नर्वेका सिकारीले दोगाडी ‘ब्लक’मा एक नाउर र एक झारल, मेक्सिकनले सुनदह र सेङमा एक नाउर तथा एक झारलको सिकार गरेका थिए । यस्तै ग्लोबल सफारिजमार्फत आरक्ष पुगेका मेक्सिकोका सिकारीले घुस्तुङ ‘ब्लक’मा एक नाउर र एक झारलको सिकार गरेका थिए ।

सोही कम्पनीमार्फत आउने भनिएका हङ्गेरीका सिकारी अन्तिम समयमा नआएपछि घुस्तुङ ‘ब्लक’मा तोकिएको एक नाउर र एक झारलको भने सिकार नभएको आरक्ष कार्यालयले जनाएको छ ।

पहिलो याममा भने हिमालयन, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्सपिडिसनबाहेक हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले पनि सिकार खेलाएको थियो । ती सिकार कम्पनीले मेक्सिको, फ्रान्स, रुस, युक्रेन, स्पेन र चे रिपब्लिकका सिकारीलाई ढोरपाटन पुर्याएका थिए ।

उक्त याममा केही सिकारीले निशाना लगाउन नसक्दा कोटाअनुसार नाउर र झारलको सिकार हुन नसकेको हो ।

सहायक संरक्षण अधिकृत खड्काका अनुसार आउँदो आवको पहिलो सिकार याम असोजदेखि सुरु हुन्छ । विभागले तोकेको कोटाअनुसार आरक्षमा सिकार खेलाउने गरिन्छ ।

“विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकारका लागि अनुज्ञापत्र दिने गर्छ”, उहाँले भन्नुभयो, “बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर निर्धारण हुन्छ ।”

कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् ।

कम्पनीले यो वर्षको दोस्रो याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले जानकारी दिनुभयो ।

“सिकारको माग धेरै आउँदा दरभाउपत्रमा प्रतिस्पर्धा हुन्छ, अनि राजस्व पनि बढ्छ”, निर्देशक पराजुलीले भन्नुभयो, “कोरोना महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक छन् ।”

बन्दाबन्दी र यात्रा प्रतिबन्धका कारण कोरोना महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्ने गरेको छ ।

एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चन्छन् । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । सिकार खेलाएर आरक्षले बर्सेनि कराडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ । रासस