• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक ★   त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम ★   ‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’: प्रधानमन्त्री दाहाल ★   मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

नेपाली कांग्रेसले ३०१ पालिकामा प्रमुख वा अध्यक्ष जित्यो, एमालेको १८५



काठमाडौंः स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसले यस चुनावमा ३०१ वटा स्थानीय निकायमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेर पहिलाे दल बनेको छ ।

नेपाली कांग्रेस अझै २३ स्थानीय तहमा अग्रस्थानमा रहेको छ । उपमेयर वा उपाध्यक्ष तर्फ पनि नेपाली कांग्रेसले २७६ स्थान जितेर अग्रस्थान बनाएको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले शुक्रबार साँझसम्ममा १८५ स्थानमा विजयी भएको छ, र एमालेका १७ जनाले अझै अग्रस्थान बनाइरहेका छन् । उपमेयर वा उपाध्यक्ष पदमा पनि २१० जनाले विजय हासिल गरेका छन् भने २७ जनाले अग्रस्थान बनाइरहेका छन् ।

देशभर राम्रै नतिजा प्राप्त गरिरहेको भपनि नेकपा एमालेले कुनै पनि महानगरमा विजय वा अग्रता बनाउन सकेको छैन । एमालेका उम्मेदवारहरु सबै महानगरमा पछि छन् ।

यसअघि २०७४ को स्थानीय चुनावमा नेकपा एमालेले २९४ स्थानमा विजय हासिल गरेर पहिलो पार्टी बनेको थियो । नेपाली कांग्रेसले भने २६६ स्थान मात्र जितेको थियो । माओवादी केन्द्रले १०६ स्थान जितेको थियो तर यस पटक माओवादीले ११५ स्थान जितिसकेको छ । संघीय फोरमले ३०, राजपाले २५, फोरम लोकतान्त्रिकले ५ र अन्यले २३ स्थान जितेका थिए ।

त्यस्तै, चुनाव अघि कम आंकिएको नेकपा (माओवादी केन्द्र) र माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) ले आम अपेक्षाभन्दा फरक नतिजा ल्याएका छन् ।

माओवादी केन्द्रले ११७ जना प्रमुख वा अध्यक्ष जितेको छ भने ६ स्थानमा अझै अग्रता बनाइरहेको छ । माओवादीका १२० जनाले उपप्रमुख वा उपाध्यक्ष पदमा विजय हासिल गरेका छन् भने अझै ९ जनाले अग्रता बनाइरहेका छन् ।

नेकपा एस ले १५ स्थानमा प्रमुख वा अध्यक्ष पद जितेको छ भने ४ स्थानमा अग्रता कायम गरिरहेको छ । यस दलका तर्फबाट पोखरा महानगरपालिकामा धनराज आचार्यले अग्रता बनाइरहेका छन् भने हेटौंडा उपमहानगरपालिकामा मीना कुमारी लामाले प्रमुखमा विजयी भएकी छिन् ।

टुटफुटको राजनीति व्यहोरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले पनि हालसम्म २३ वटा स्थानीय निकायका प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको छ । जसपाका अझै १० जना उम्मेदवारले मतगणना जारी रहेका स्थानीय निकायमा अग्रता बनाइरहेका छन् । जसपाले २५ स्थानमा उपमेयर वा उपाध्यक्ष जितिसकेको छ भने ६ पालिकामा अग्रता कायम राखेको छ ।

महन्थ ठाकुरले नेतृत्व गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १० वटा पालिकामा प्रमुख वा अध्यक्ष पद जितेको छ भने ६ वटामा अग्रता बनाइरहेको छ । यस दलले ९ जना उपमेयर वा उपाध्यक्ष जितिसकेको छ ।

राप्रपा, जनमोर्चा समेतका अन्य दल एवं स्वतन्त्र उम्मेदवारहरुले २६ वटा स्थानीय तहमा प्रमुख वा अध्यक्ष पद जितिसकेका छन् भने ६ जनाले अग्रता लिइरहेका छन् । जसमा काठमाडौंंमा वालेन्द्र साह, धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल चर्चित छन् । मतगणनाको प्रवृत्ति हेर्दा यी तीनै उम्मेदवारले विजय हासिल गर्ने सम्भावना छ ।

अर्कातर्फ राप्रपा, कांग्रेस र माओवादीको गठबन्धनले झापाको दमक नगरपालिकामा विजय हासिल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढाएका छन् । यस पालिकाको प्रमुखमा राप्रपाका राम कुमार थापा विजयी भएका छन् भने उपप्रमुखमा पनि नेपाली कांग्रेसकी रेगिना भट्टराई विजयी भएका छन् ।

पछिल्लो समय निर्वाचन आयोगले जनशक्ति बढाएर मतगणना गरिरहेको भए पनि मतगणनाको अन्तिम नतिजा प्राप्त हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।