• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

मनोरञ्जन नभई अनुष्ठान र साधना हो शिवरात्रि



नेपाल शैवभूमि हो, पशुपतिको देश हो, मन्दिरै मन्दिरको राष्ट्र हो । यहाँको समाज, दैनिक, जीवनशैलीमा मठमन्दिर एवं अध्यात्मको प्रत्यक्ष प्रभाव छ । जलेश्वरदेखि गोसाइँकुण्डसम्म, हलेशीदेखि पशुपति अनि वैद्यनाथसम्मका अवस्थितिले शैवको जरा तराईदेखि हिमालीक्षेत्र मजबुतरुपमा गडेको पुष्टि गर्छ । यहाँका नदी, पर्वत, पत्थरमा शिवत्वको सुगन्ध भेटिन्छ । अर्जुनलाई महाभारत जित्न आवश्यक पर्ने पाशुपतास्त्र, विरुपाक्षलाई पापबाट मुक्त गराउने शक्ति प्राप्त गर्न शिवकै आशीर्वाद चाहियो । महादेवबाट मृत्युञ्जय मन्त्र प्राप्त हुन्छ, कामबासना र लोभबाट छुट्करा पाउने शक्ति मिल्छ ।

राष्ट्रको कल्याण चाहने हो भने सरकार प्रमुख वा राष्ट्र प्रमुख नै उपस्थित भइ महाशिवरात्रिमा शिवको विशेष अनुष्ठान गर्नुपर्छ । शिवपूजाका वैज्ञानिक र व्यवहारिक पक्षलाई भुलेर असल र लामो आयुको श्रीमान्को कामना गरी पशुपति ओइरिनेको क्रम बढ्दो छ । श्रीमतीले श्रीमान्को, श्रीमान्ले श्रीमतीको मात्र होइन परिवार र समाजकै उन्नति, सुस्वास्थ र दीर्घजीवन चाहनुपर्छ । शिवरात्रिमा व्यक्तिकेन्द्रित लाभका लागि पूजा गरिनुहुन्न । हरेकका शारीरिक र मानसिक समस्या छन्, समाजदेखि राष्ट्रसम्म द्वैविधाबाट ग्रस्त छ । सबैलाई सुख, शान्ति र स्वस्थ्य चाहिएको हुँदा हरेक वर्ग, वर्ण, संस्कृतिका अनुयायीले शिवको पूजा गर्नुपर्छ ।

हाम्रो परिवार भताभुङ्ग छ, समाज विभाजित छ, राष्ट्र अलमलमा छ त्यसैले सबैलाई शिवसाधना परमआवश्क छ । नेपालका चोकचोकमा शिवालय छन् । जंगलजंगलमा बेलपत्र छन्, प्रत्येक नदी र खोलामा जल छन् भने त्यसलाई अर्पण गरी किन शिवजीको स्मरण र ध्यान नगर्ने ?  पशुपतिको स्थापना ब्रह्मा, विष्णु र इन्द्रले गरेको हुँदा दर्शनीय मानिन्छ । १२ ज्योतिर्लिङ्गको आत्मा भएकाले पूजनीय ठानिन्छ ।

६४ शिवलिङ्गको केन्द्रमा रहेकाले आराध्य हुनुहुन्छ । यसैले शिवरात्रिको मेला पाशुपत क्षेत्रमा विशेष रुपले गरिन्छ । केही वर्षयता चाडपर्वको मर्ममाथि प्रहार भएका छन्, धार्मिक भावमाथि खेलवाड भएका छन्, अनुष्ठानलाई लत्याइएका छन् । आध्यात्मिक लाभ लिनभन्दा पनि क्षणिक मनोरञ्जनमा रमाउने क्रम बढ्दै गएको छ । मन्दिर जाँदा न त सामग्री छ, न त मन्त्र छ, न त भाव छ, न त श्रद्धा छ । हुल बाँधेर, गफ लडाएर, गाँजाको चुस्की लगाई पशुपतिकै दर्शन गरी फर्कनेहरुको क्रम प्रतिवर्ष बढ्दो छ । गाँजालाई प्रयोग गर्न जाने अचुक औषधि बनाउन सकिन्छ नभए दुव्र्यसनीको कारण बन्छ । गाँजा खाएर शिवरात्रि मनाउनेको जत्था केहीवर्षयता मौलाउँदै गएको छ । गाँजा खानु, नाङ्गाबाबासँग बसेर सेल्फी खिच्नु नै शिवको पूजा हो क्यारे जस्तो बन्न पुगेको छ ।

उपत्यका भित्र धार्मिकसंस्था चोक चोकमा भेटिन्छन्, गुरुहरु घरघरमा उपलब्ध छन्, धर्मका चर्चा गर्नेहरु चियापसलै पिच्छे पाइन्छन् तर शिवका नाममा गाँजा पिउनू संस्कृति कि विकृति भन्नेमा अधिकांश अलमलमा नै छन् । नेपालमा संस्कृति मन्त्रालय छ, पाशुपत क्षेत्रको श्रीवृद्धिका लागि पशुपति क्षेत्र विकास कोष छ, यसलाई हेर्ने अन्य धार्मिक, सांस्कृति संगठन तथा विद्वान्विदुषीहरु पनि छन् । उनीहरुलाई शिवको गरिमा, पशुपतिको महिमा बढाउन चासो पुगेझैँ देखिन्न ।

शिवरात्रि अब साधना गर्ने पर्व नभएर गाँजा तान्ने अवसरमा रुपान्तरित  हुन पुगेको छ । पशुपति शब्दले कि त कोही मर्दा जाने, कि त शिवरात्रिमा गाँजा तान्न र बाबा हेर्न जाने स्थानका रुपमा रुपान्तरित भएको झल्को दिन्छ । तीर्थस्थल र देवीदेवताका नाममा यस्ता नग्नता, उच्छृङ्खलता देख्दा आश्चर्य लाग्छ । यस्तो गर्न कुन वेदले अनुमति दिएको छ ? कुन पुराणले स्वीकृति दिएको छ ? कुन संगठनले सहयोग गरेको छ ? अब चिन्तन गर्नुपर्ने अवस्था आएको छ । 

 शिवरात्रिका अवसरमा साधना, ध्यान, ज्ञान, पूजाका पक्षलाई उजागर गर्नेतर्फ न त राज्यको, न त सम्बद्ध निकायको विवेक पुग्यो । साधुसन्त दर्शनसहित योग र जप्न गर्न चाहने, पूजा गरी पुराण सुन्न चाहनेलाई निश्चित ठाउँ उपलब्ध गराइदिएको भए शिवरात्रिको गरिमा बढ्ने थियो । अभिभावकले छोराछोरीलाई निस्कोच पशुपति पठाउने थिए । अब त एक्लै पठाउनका लागि १०८ पटक सोच्नुपर्ने भएको छ । जुंगाको रेखी बस्दै गरेका युवा, वयस्क बन्दै गरेकी युवती पशुपति आएर के गर्ने भन्ने विषय नै धुमिल छ । शिवलाई सम्झेर, पशुपतिको दर्शन गरेर शान्ति मिल्नुको सट्टा जताततै अश्लील व्यवहार, गाँजाको धुवा, आपत्तिजनक बोली सजिलै सुन्न पाइन्छ । यसले हिन्दूधर्ममाथि प्रहारमात्र भएको छैन, राष्ट्रिय चाडमाथि, नेपालको संस्कृतिमाथि औँला उठाउनुपर्ने अवस्था सृजना भएको छ । 

पशुपति आएकाले भस्म लगाउन पाऊन्, बेलपत्र खान पाऊन्, रुद्राक्षको माला लिएर मन्त्र जप्न पाऊन् अनि पो शिवरात्रिको महत्ता बढ्छ । शिवपुराणको वाचन मात्र गराइदिएको भए पनि कान पवित्र हुने थियो, योगशिविरमात्र खोलिदिएको भए ध्यान सिक्ने थिए, कठै मेरो देश, मेरो समाज, मेरा धार्मिक संगठनहरु सबैलाई ताण्डवनृत्य नाच्न मन छ तर न त ताल, न त सुर, न त उपयुक्त स्थान । कुनै शासकलाई मोड चल्छ अनि कसैलाई नसोधी सुनको जलहरी हालिदिन्छ, कुन कर्मचारीलाई रहर लाग्छ अनि गोठाटारको जग्गामा करामत देखाउँछ । स्वदेश र विदेशमा रहेको उच्चकोटिका सन्तहरुलाई भेला गराएर आध्यात्मिक लाभ लिन सक्थे । यहाँका आश्रमहरुलाई संरक्षण गरेर आध्यात्मिक विरासदको संरक्षण गर्न सक्थे । वैदिक ज्ञानको भूमि, पशुपतिको देशले शिवरात्रिको अवसरमा के सन्देश दिने भन्नेतर्फ चुक्नुहुँदैन ।

यहाँका भौतिक र प्राज्ञिक सम्पदालाई उजागर गर्न सके शिवरात्रिको रौनक अर्कै हुने थियो । पाशुपत क्षेत्रमा रहेका योगीराज नरहरिनाथका सामग्री कुहिन्छन्, डा. स्वामी प्रपन्नाचार्यको आश्रममा आउने रकम रोकिन्छ, विभिन्न सन्तको समाधि भत्कन्छ, विश्वरुपा लडेर घायल हुन्छ । वास्तवममा महादेवकै पाराले अगाडि बढेको छ घायल पशुपति । यसले कसलाई दुख पोख्ने ? कोरोनाका नाममा थुनिन्छ, नयाँ काम देखाउने धुनमा भत्कने र बन्ने क्रम चल्छ, सुनजस्तो देखिने पहेँलो वस्तु भनी अभिलेख राखिन्छ । कैलाश, वाग्मती, मृगस्थली, धु्रवस्थलीलाई पनि कहिलेकाहीँ त दिक्क लाग्दो हो ।

शिवरात्रि आएपछि गाँजाको गन्ध, साउनलागेपछि व्यक्तिविशेषको पूजा, सोमवार लागेपछि पञ्चामृतको घनचक्कर । पशुपतिलाई बोझमात्र बोकाइयो । यसले धार्मिक, सांस्कृतिक, ऐतिहासिक विराशद बोकेको छ साथ दिनुपर्छ भन्ने तथ्य भुल्नुहुँदैन । यसले शैवसम्प्रदायलाई मात्र सम्बोधन गर्दैन राष्ट्रको नाक र नेपालीको साख बोकेर सगरमाथाझैँ उभिएको छ । शिवरात्रिले पशुपतिको ओझ बढ्नुपर्छ, शिवरात्रिप्रति सबैको सोच बदल्नुपर्छ । शिवरात्रिले साधनालाई उमा-यो, उपासनालाई फूलायो, शान्तिलाई मौलायो भनेमात्र पशुपतिको गरिमा बढ्ला, हाम्रो पहिचानमा ईट्टा थपिएला ।