२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

चन्द्रागिरिः घाम र कुहिरासँग लुकामारी…

चन्द्रागिरिः घाम र कुहिरासँग लुकामारी…
अ अ+ अ-

चन्द्रागिरि । फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ । यही स्वर्णीम मौसमका कारण काठमाडौँका शिर झैँ उभिएको अग्लो चन्द्रागिरिको चुचुरो अचेल बादलभित्रको स्वर्ग झैँ रमणीय बनेको छ । यति बेला चन्द्रागिरि पुग्ने पर्यटक त्यसैमा रमाएर फुरुङ्ग छन् । 

आगन्तुक हरियो डाँडामा कुहिरो र घामकोे अलौकिक दृष्यलाई पृष्ठभूमि पारेर हतारहतार क्यामेरामा कैद गर्न मरिहत्ते गर्छन् । बढ्दै गएको चिसोकैमाँझ जाडो याममा भने यहाँ हिउँ खस्छ । हिउँसँग खेल्ने प्रतिक्षामा धेरै छन् । मनसुन घर्किंदै गएको बखत, बिहीबार घरी आकास खुल्ने त घरी डम्म बादलले भरिनेक्रम दिनभरजसो नै जारी रह्यो । बेलाबेलामा प्राप्त हुने तापिलो सूर्यको किरणले आगन्तुकलाई शरद् ऋतुले स्वागत गरेएको झैँ मौसमको अनुकूलता अनुभूत गरायोे । सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन् । “खाल्डोभरिका घर त सानासाना बट्टा जस्ता ओइ हेर न”, एक युवती सङ्गीसँग भन्दै हुनुहुन्थ्यो ।

पश्चिम नेपालबाट घुम्न आउनुभएकी ८७ वर्षीया आमा भद्रकला र श्रीमती नन्दासँगै ६६ वर्षका प्रमा थानीले त्यही मौसमको मजा लिनुभयो । चन्द्रागिरि यात्रा भद्रकलाका लागि पहिलो हो । उहाँले जीवनकै नौलो क्षण बटुल्नुभयो । आउँदा वनको माथिमाथि मन्द गतिको केबलकार यात्राले उहाँलाई थप पुलकित बनायो । केबलकारबाट तल हरिया थुङ्गा झैँ रुख देखिए । सयौँ थरीका बोटबिरुवाको रौनक अर्कै थियो । केबलकार वनको केही नजिक पुग्दा लता लहरामा फुलेका वनफूलको सौन्दर्यले मन उसै लोभ्याउँथ्यो । “यो बुढेसकालमा नयाँ ठाउँ घुम्न पाउँदा कति रमाइलो कति, पुरानो महत्व बोकेको ठाउँ पनि हो, एकपटक हेरौँ भनेर आएको”, भद्राकुमारीले पहिलो अनुभव रासससँग सुनाउनुभयो । 

माथि पुगेपछि ठाउँठाउँ सामूहिक अनि ठाउँठाउँ एक्लाएक्लै तस्वीर लिने आन्तरिक पर्यटक बाक्लै थिए । फाट्टफुट्ट विदेशीसमेत मिसिन्थे । पृथ्वीनारायाण शाहको शालिक नजिक पुगेर औँलो उठाएको भान पार्दै पालैपालो तस्वीर कैद गर्न कसैले छुटाएनन् । यहाँ रहेको भालेश्वर मन्दिरसँगै मानव निर्मित आकर्षक संरचनामा रमाउन पाउँदा पर्यटक खुसी देखिन्थे । पर्यटक समूहगतरुपमै धेरै थिए । त्यसबीच काठमाडौँ बस्ने कल्पना शर्मा पनि साथीभाइसँग सेल्फीमा रमाउनुभयो । ठाउँठाउँमा प्रेमिल जोडी फरकफरक दृष्यमा रमाइरहेका भेटिए । समूहमा आएका एकै स्थानमा बसेर टिकटक बनाउँदै गीतमा नाँच्ने गाउने गरिरहेका भेटिए । त्यतिमात्र हैन विद्यालय खुल्ने वा बन्द हुने अन्यौलका बीच रमाइलो गर्न पुगेका बालबालिका पार्कमा खेलकुदको मजा लिन भ्याए ।

लामो समयदेखि बन्द रहेर गत भदौ १९ बाट यहाँको केबलकार सञ्चालनमा आएपछि झनै चहलपहल थपिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण उक्त केबलकार गएको वैशाख १६ गतेदेखि बन्द थियो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहले स्वास्थ्यका मापदण्ड पालना गरेर केबलकार सञ्चालन गरिएको र अहिले विस्तारै विभिन्न जिल्लाबाट मानिस घुम्न आउन थालेको जानकारी दिनुभयो । यहाँ अहिले जीपलाइन र रिसोर्टसमेत सञ्चालनमा छ । दैनिक एक हजार पर्यटक पुग्न थालेका छन् । बिदाको दिनमा बढी पुग्छन् । चन्द्रागिरिको फेदबाट अलिक उकालिएपछि केबलकारको व्यवस्थापन क्षेत्र सुरु हुन्छ । 

यहाँ पुग्ने पर्यटक छोटो समय जीप लाइनको मजा लिन पनि हौसिन्छन् । उनीहरु आकर्षक संरचनालाई पृृष्ठभूमि पारेर सेल्फी लिन्छन् । चन्दागिरिबाट देखिने काठमाडौँ उपत्यकाको मनोरम दृष्यले जो कसैलाई लोभ्याउने गरेको उहाँ सुनाउनुहुन्छ । सहरको भिडभाड र सवारी साधनको हो–हल्लाबाट पर प्रकृतिको काखमा रहेको चन्द्रागिरि पर्यटकका लागि आजकाल मन बिसाउने चौतारी बनेको छ । यहाँ पुगेपछि व्यस्त सडकको धुवाँ धुलोबाट केही समय राहत मिल्छ । 

काठमाडौँ जिल्लाको दक्षिण पश्चिममा पर्छ चन्द्रागिरि । छोटो समयमा मजा लिएर फर्कनसक्ने क्षेत्र हो । त्यसमाथि केबलकारले थप सहज र छिटो बनाइदिएको छ । चन्द्रागिरि सधैँ व्यस्त रहेने उपत्यकावासीको थकान भुल्याउने मुख्य थलोका रुपमा पछिल्लो समय उदाउँदो छ । 

त्यसो त उपत्यका आसापासका धेरैजसो पहाड र पर्यटकीय क्षेत्रमा यसैगरी पर्यटक जाने गरेका छन् । चन्द्रागिरि मात्रै होइन कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । आन्तरिक पर्यटक घुम्नेक्रम बढेको तत्क्षेत्रका पर्यटन व्यवसायीले बताएका छन् । फूलचोकी, काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार स्वायर, सुन्दरीजल, स्वयम्भु, बौद्ध, बूढानीलकण्ठ, शिवपुरी, चोभार, नगरकोटलगायत क्षेत्रमा विस्तारै चहलपहल बढेको छ । 

चन्द्रागिरि प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्वसमेत जोडिएको छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहले ससुराली मकवानपुरबाट फर्किंदा यहाँबाट खाल्डोलाई नियाल्नुभएको इतिहास छ । गोर्खा राज्यलाई एकीकृत गर्ने पहिलो योजना उहाँले यहीँ बसेर बनाएको भन्ने विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख छ । 

यहाँ रहेको भालेश्वर मन्दिर धार्मिकस्थलका रुपमा प्रख्यात छ । यही मन्दिर दर्शन गरेर शाहले उपत्यका विजयको शक्ति प्राप्त गरेको लोक कथन पनि छ । त्यसैले यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यहाँ स्वस्थानी व्रतकथाअनुसार महादेवले बोकेर हिँड्नुभएकी मृत सतीदेवीको निधार पतन भएकाले भालेश्वर नाम रहेको किंवदन्ती छ । 

प्राकृतिक हिसाबले मनोरम चन्द्रागिरिबाट सगरमाथा, अन्नपूर्ण लाङ्टाङ, गौरिशङ्करलगायतका हिमशृङ्खलाको दृष्यपान गर्न किन्छ । विभिन्न चाडपर्वमा यहाँ मेला लाग्छ । हिमवत्खण्डको धार्मिक कथनअनुसार स्वर्गकी अप्सरा रम्भाले श्राप दिएपछि सुखुम गन्धर्व भौँतारिएर हिँडिरहेका बेला गालप ऋषिको उपदेशबमोजिम दर्शन गर्न जाँदा भालेश्वर महादेव प्रकट हुनुभएको हो । 

उसो त चन्द्रागिरि काठमाडौँ उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने मुख्य पर्वत हो । साथै नजिकका भेगका खानेपानीको पूर्ति गर्ने प्रमुख स्रोत पनि हो । काठमाडौँको थानकोटस्थित गोदामचौरबाट झण्डै १२÷१३ मिनेटको केबलकार यात्रापछि यहाँ पुग्न सकिन्छ । यहाँ पुग्न सडकमार्ग र ट्रेकिङ रुट समेत छ । यहाँ पछिल्ला समयमा पैदलै चन्द्रागिरि पुगेर रमाइलो गर्ने पर्यटनकोसमेत वृद्धि हुन थालेको छ । चन्द्रागिरिबाट हाइकिङ रुट पनि सुचारु छ । जहाँबाट सिधै काठमाडौँबाट मकवानपुरको ऐतिहासिक पर्यटकीयस्थल चित्लाङसम्म पैदलमार्गबाट पुग्न सकिन्छ । श्री ५ पृथ्वीनारायण शाह यही बाटोहुँदै चन्द्रागिरि उक्लनुभएको थियो भन्ने भनाइ छ । –नारायण ढुङ्गाना