सिड्नीः अस्ट्रेलियाका प्रतिभाशाली पूर्व क्रिकेट खेलाडी एन्ड्रु साइमन्ड्सको कार दुर्घटनामा परेर निधन भएको छ ।
अस्ट्रेलियाले यसै वर्ष शेन वार्न र रड मार्श जस्ता प्रतिभाशाली क्रिकेट खेलाडी पनि गुमाइसकेको छ ।
४६ वर्षीय अलराउन्डर क्रिकेट खेलाडी साइमन्ड्सले अस्ट्रेलियाका लागि सन् १९९८ देखि २००९ सम्मको अवधिमा २६ वटा टेस्ट तथा १९८ वटा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।
उनको शनिबार राति क्वीन्सल्यान्डको टाउन्सभिल्ले बाहिरको सडकमा कार दुर्घटना भएर निधन भएको प्रहरीले जनाएको छ । त्यस बेला उनी कारमा एक्लै थिए । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरे पनि चिकित्सकहरुले बचाउन सकेका थिएनन् ।
अस्ट्रेलियाली क्रिकेटका अध्यक्ष लाच्लान हेन्डरसनले अस्ट्रेलियाले अर्का एक उत्कृष्ट खेलाडी गुमाएको प्रतिक्रिया दिएका छन् । “अस्ट्रेलियालाई विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका साइमन्ड्सको निधनले अस्ट्रेलियाका साथै क्वीन्सल्यान्डको समृद्ध क्रिकेट इतिहासमा ठूलो क्षति पुगेको छ ।”
उनको निधनको खबरले अस्ट्रेलियाका साथै विश्वभरका क्रिकेट खेल प्रेमीहरुले दुःख व्यक्त गर्दैै समवेदना व्यक्त गरिरहेका छन् ।