२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

‘सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी

‘सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी
अ अ+ अ-

काभ्रेपलाञ्चोक । सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले आजदेखि आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम राखिएको छ ।

काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव दिन आग्रह गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । कोरोनाको जोखिमका कारण अध्ययनको काम प्रभावित बन्दै वातावरणीय प्रभाव मूल्याङ्कनको काम धकेलिँदै आएको थियो । यसअन्तर्गत स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । विभागका अनुसार आयोजनाको प्राविधिकतर्फको अध्ययन सकिएको छ ।

आयोजनाको प्राविधिकतर्फको सर्भे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जीनियरिङ डिजाइनको काम सकिएको विभागका इञ्जीनियर सुवास थपलियाले जानकारी दिनुभयो । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको हो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने/नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययनबाहेकमा थप बजेट विनियोजन गरेको थिएन ।

एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्भेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के–कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्न सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

यसैबीच उक्त आयोजनाका लागि सरकारले गत भदौ अन्तिम साता बङ्गलादेशलाई प्रस्ताव गरेपछि आउँदो डिसेम्बरमा दुवै पक्षबीच आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप क्षेत्रको भ्रमणको सहमतिसमेत भएको थियो । आयोजनाको प्रक्रिया अघि बढाउन गत भदौ २९ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले सुनकोसी तेस्रो निर्माण गर्न दिने प्रस्ताव अनुमोदन भएको हो ।

यसका साथै उक्त बैठकले ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि बङ्गलादेशलाई प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवाल जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोसी तेस्रो आयोजनाका लागि नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकासतर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गर्नुभएको छ ।

नेपालबाट बङ्गलादेशसँग विद्युत् व्यापार गर्नसमेत आवश्यक तयारीका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देशबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको जनाइएको छ । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको सुनकोसी तेस्रो आयोजनालाई बङ्गलादेशले सरकारले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढेको हो ।

परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि रु १९ करोड बजेट विनियोजन गरेको  थियो । दुवै आयोजना अध्ययनको काम सक्न रु ३३ करोड लाग्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “हालसम्मको विविध प्रकारको अध्ययनबाट सुनकोसी दोस्रोभन्दा पनि तेस्रोको सम्भावना देखिँदै आएको थियो ।”

आयोजनाका लागि लुभुघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्नेछ । वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४(१), अननुसूची–२ बमोजिम इआईए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सार्वजनिकरूपमा अपिल गरिसकेका छन् ।

सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोसी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेगावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोसी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।

विसं २०७५ चैत महिनामा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ ।

आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने तयारी भइरहेको विभागले जनाएको छ । आयोजना बन्दा माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ ।