१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सार्वजनिक गर्यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको हो । 

समितिका अनुसार डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा सहमति जुट्न नसकेको हो ।

प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा छन् ।

कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भइसकेको छ । शनिबार करिव ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको छ ।

वडाअधिवेशन हुन नसकेका १३ जिल्लामा दशैं अघि नै अधिवेशन प्रक्रिया सुरु गर्ने कांग्रेसले जनाएको छ । हिमाली जिल्लामा महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने कांग्रेसले निर्णय गरिसकेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ । तर यो कार्यतालिका प्रभावित हुने आशंका छ ।