६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमण गर्ने



फाइल फोटो
अ+ अ-

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध पूर्णिमाको अवसरमा जेठ २ गते लुम्बिनीको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०१४ यता भारतीय प्रधानमन्त्री मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले बुद्धजयन्तीका अवसरमा लुम्बिनीको भ्रमण गर्ने पराराष्ट्र मन्त्रालयले समेत विज्ञप्ति जारी गरी स्पष्ट गरेको छ ।

लुम्बिनीमा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुहुने छ । लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गरेको बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी उहाँले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ (आइबीसी), नयाँदिल्लीको प्लटमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणका लागि हुने ‘शिलान्यास’ समारोहमा भाग लिने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्तासमेत हुनेछ । “प्रधानमन्त्री मोदीको भ्रमणले हाम्रो छिमेकी पहिलो नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ। यसले दुवै देशका जनताको साझा सभ्यताको सम्पदालाई जोड दिन्छ”, विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

भाारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा नारायण खड्काले भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्नुहुनेछ । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।