२ पुष २०८२, बुधबार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी सरुवाको सूची बाहिरै बन्न थाले



अ+ अ-

काठमाडौं । गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर आउने क्रम बढेपछि मुख्य सचिव शंकरदास वैरागी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले दिक्दारी महसुस गर्न थालेका छन् ।

उनीहरूले निकटस्थहरूसँग दिक्दारी महसुस गर्दै हस्तक्षेप रोक्ने उपायको बारेमा छलफल थाले पनि त्यसलाई सशक्त रूपमा अघि बढाउन सकेका छैनन् । राजनीतिक नेतृत्वबाट उच्च दबाब आउने क्रम बढेपछि मुख्य सचिव र सामान्य सचिव निरीह जस्तै बन्न पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

सामान्यतः सचिव र सहसचिव सरुवाको चाँजोपाजो आवश्यकताका आधारमा मुख्य सचिवले सामान्य प्रशासनका सचिवसँग समन्वय गरी गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सचिव सहसचिव सरुवाको सूची बाहिरै बनेर प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा आउने क्रम बढेपछि मुख्य सचिव र सामान्य सचिव खिन्न हुन थालेका हुन् ।

तर, पनि उनीहरूले यस प्रकारको विकृतिबारे सामान्य ‘अब्जेसन’समेत गर्न नसकेको प्रधानन्त्री कार्यालय स्रोतको दाबी छ । ‘बाहिर अमूक व्यक्तिको रुचिमा सचिव सहसचिवको सरुवा हुने क्रम बढ्दा पनि मुख्य सचिव र सामान्य सचिवले त्यसको विरोध गर्न नसक्नु घोर विडम्बना हो,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले राजधानीसँग भने ‘यसले निजामती प्रशासनलाई घायल मात्रै होइन पूर्णरूपमा पक्षघात नै बनाउने खतरा बढेको छ ।’ उनीहरूले प्रशासनलाई विकृत र निरीह बन्नबाट रोक्न मुख्य सचिव र सामान्य सचिवले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औल्याए । यस्तो प्रवृत्ति बढेपछि असल र राम्रा प्रशासकको मनोबल खस्कन थालेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार गलत खालका सरुवाको सूची बनेर आएमा मुख्य सचिव र सामान्य सचिवले त्यसलाई रोक्ने हिम्मत गर्न सक्नुपर्छ । मुख्य सचिव प्रशासन र सबै कर्मचारीको संरक्षकका रूपमा रहन्छन् । तर, यतिखेर कर्मचारीमा व्याप्त सरुवा आतंकले आमकर्मचारी आतंकित भइरहेको अवस्थामा मुख्य सचिवले कर्मचारीलाई कुशल अभिभावकत्व ग्रहण गर्न नसकेको गुनासो कर्मचारीवृत्तबाटै आउन थालेको छ । ‘राजनीतिक नेतृत्वको गलत कुरामा मुख्य सचिवले अडान लिन नसक्ने हो भने मुख्य सचिवको गरिमा नै नरहने विश्लेषण प्रशासकहरूको छ ।

यसो त धेरै सचिवहरू नै गुटबन्दीमा लाग्ने र शक्तिको पछाडि दौडने क्रम बढ्न थालेकाले पनि समस्या भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूको विश्लेषण छ । ‘सचिव सहसहसचिवहरू आफैँ नेताहरूका झोले कार्यकर्ताजस्ता भएका छन्, यो प्रशासनभित्रको अशुभ संकेत हो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले भने ।

अहिले सचिव सहसचिवहरू आफैँ सरुवाका लागि नेताकहाँ दौडधुप गर्ने क्रम बढेको छ । सरकारले साढे दुई महिनाको अवधिमा दुई दर्जन बढी सचिवहरूको सरुवा गरिसकेको छ भने सयौंको संख्यामा सहसचिवको सरुवा गरिसकेको छ । यो सरुवामा राजनीतिक हस्तक्षेप अत्यधिक देखिएको हो । ‘प्रदेश एकमा सरुवा भएका एक सहसचिव भन्छन् ‘सामान्यतः मुख्य सचिव, सामान्य सचिव र विभिन्न मन्त्रालयका सचिवहरूको समन्वयमा प्रशासन चल्नुपर्ने हो तर अहिले प्रशासन कहाँबाट कसले सञ्चालन गरिरहेको छ भन्ने कुरा नै बुझ्न सकिएको छैन् ।’ जसका कारण प्रशासन भद्रगोल अवस्थामा पुगेको ती सहसचिवको दाबी छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको र निकै संवेदनशील मानिएका सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभागलगायतका निकायमा समेत महानिर्देशकहरू सरुवा गर्दा हचुवाका आधारमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयकै अधिकृतहरूको गुनासो छ । कमसेकम त्यस्ता निकायमा लैजाने व्यक्तिहरूले विगतमा विभिन्न निकायमा रहेर इमानदारितापूर्वक काम गरेको हुनुपर्छ त्यस्तो व्यक्ति लैजानुपर्नेमा अहिले हचुवाका आधारमा महानिर्देशकहरू लगिएको भन्दै प्रधानमन्त्री कार्यालयभित्रै असन्तुष्टि सिर्जना भएको बताइएको छ ।

ट्रेड युनियन अधिकार अधिकृतसम्मलाई मात्रै दिएको भए पनि अहिले त्योभन्दा माथिका उपसचिव, सहसचिव र सचिवहरूले खुलेआम राजनीतिक दलसँगको आबद्धता देखाउन थालेको पाइएको छ । विशेषगरी अधिकांश उपल्लो तहका कर्मचारीहरू प्रधानमन्त्रीको पार्टी नेपाली कांग्रेसप्रति लचिलो बन्न थालेको विश्लेषण गर्न थालिएको छ । ‘कांग्रेस नबन्दासम्म आकर्षक ठाउँमा जान नसकिने भएकाले लालची कर्मचारीहरू बाहिरबाहिर कांग्रेसकै ठूला नेताजस्ता बन्न थालेका छन्,’ एक मन्त्रालयका सहसचिवले भने । यसो त कर्मचारीभित्र एउटा यस्तो गिरोह छ, त्यो सधैं शक्तिको वरिपरि घुमिरहन्छ र जुनसुकै पार्टीको सरकार बने पनि त्यो गिरोह हावी हुने प्रवृत्ति उस्तै देखिने गरेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।