• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिग उपाधि दौड रोमाञ्चक, सिटी पुनः शीर्ष स्थानमा उक्लियो



यस सिजनको प्रिमियर लिगको दौड रोमाञ्चक हुनेक्रम जारी छ । समान खेल खेलेका म्यान्चेस्टर सिटी र लिभरपुलबीच १ अंकको मात्र फरक छ ।

अघिल्लो दिन म्यान्चेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेर लिभरपुल शीर्ष स्थानमा उक्ले पनि गएराति भएको खेलमा सिटीले ब्राइटनलाई हराएर फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको हो । सिटीले लिभरपुललाई १ अंकले पछि पारेको छ ।

घरेलु मैदान एतिहाद रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो । सिटीका लागि रियाद माहारेजले ६३औं, फिल फोडेनले ६५औं र बर्नार्डो शिल्भाले ८२औं मिनेटमा गोल गरे ।

जितपछि ३२ खेलबाट ७७ अंक जोडेर सिटी शीर्ष स्थानमा उक्लिएको छ । ३३ खेलबाट ४० अंक रहेको ब्राइटन १०औं स्थानमा छ ।

लिगअन्तर्गत नै शीर्ष चारको होडमा रहेको आर्सनलले लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई ४-२ ले पराजित गरेको छ ।

एडी एनकेतिहले दुई गोल गरेपछि आर्सनलले चेल्सीलाई उसैको मैदानमा पराजित गरेको हो । एनकेतिहले १३औं र ५७औं मिनेटमा गोल गरे । यस्तै स्मिथ रोवले २७औं र बुकाया साकोले इन्जुरी टाइममा गोल गरे ।

चेल्सीका लागि टिमो वेर्नरले १७औं र सेजार एज्प्लिकुएटाले ३२औं मिनेटमा गोल गरे ।

जितपछि आर्सनलले चौथो स्थानको टोटनहम समान ५७ अंक जोडेको छ । तर गोलअन्तरमा पछि रहँदै पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलबाट ६२ अंकसहित तेस्रो स्थानमा छ ।