६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग



अ+ अ-

काठमाडौं । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।

केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ । माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ ।

केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरणअनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ । आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो ।

केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन् । मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ । दरबन्दीअनुसारको विज्ञापन गर्दा खुलातर्फ निमाविको सामाजिक शिक्षामा ३ सय ५२, विज्ञानमा ३ सय ६४, गणितमा ३ सय ७० दरबन्दी रिक्त छ । सदस्य सचिव श्रेष्ठले पदपूर्ति खुला गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

आयोगमा पुगेको विवरणअनुसार माध्यमिक तहमा नेपाली २ सय ३०, सामाजिकमा २ सय १, गणित २ सय २८ शिक्षक दरबन्दी रिक्त रहेको विवतरण आयोगमा पठाएको छ । यसैबीच शिक्षक विज्ञापन गर्ने तयारीसँगै केन्द्रले जिल्लान्तर सरुवा रोक्का गरेको छ । केन्द्रले शिक्षकको परीक्षा र आन्तरिक बढुवा गर्नुपर्ने भएकाले हाललाई जिल्लान्तर सरुवा रोक्का गरेको केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

शिक्षक दरबन्दी मिलान व्यवस्थापन कार्यविधि–२०७६ बमोजिम खुद पुल दरबन्दी भएका जिल्लाबाट खुद पुल दरबन्दी रहेका तहका शिक्षकलाई केन्द्रले तोकेका जिल्लाअन्तर्गतका स्थानीय तहमा दरबन्दी मिलान गर्दा दरबन्दीसहित जिल्लान्तर सरुवा गर्न सक्ने व्यवस्था यथावत् राखिएको छ ।

केन्द्रले ७७ वटै जिल्लाका विवरणसहित विज्ञापन गर्न आयोगमा पत्राचार गरेको छ । आयोगले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति हुनासाथ विज्ञापन गर्ने तयारी थाल्ने भएको छ । शिक्षक सेवा आयोगको विनियमावली संशोधन नभएकाले विज्ञापन खोल्ने समस्या देखिएको छ । मन्त्री नियुक्त हुनासाथ सो नियमावली संशोधन गरी विज्ञापन खोल्ने समचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।