• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ ★   गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले शपथ लिँदै ★   नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ: प्रधानमन्त्री ★   पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने ★   टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो ★   बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति ★   कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार ★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने

झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, ढोकाबाटै दिऔँ



काठमाडौँ । उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै सूचनाका अभियान्ताले सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनको समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियामा उहाँहरुले सही सूचना प्रवाहमा कुनै कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । निर्वाचनका समयमा सही सूचना प्रवाह नभएका अवस्थामा छोटो अवधिमा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उहाँहरुले सूचना प्रवाहमा ‘भ्याकुम’को अवस्था आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना गर्ने उहाँको भनाइ थियो । “झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, घाइते सूचनाले भ्रम मात्रै सिर्जना गर्छन्, त्यसैले सूचना ढोकाबाट मात्रै दिनुपर्छ”, सही सूचना प्रवाह गर्ने कमजोर अभ्यासको परिणामबारे सचेत गराउँदै उहाँहरुले भन्नुभयो ।

निर्वाचन आचारसंहिताका केही बुँदा सूचनाको हकको प्रावधानसँग बाझिने भन्दै उहाँहरुले जनताको सूचना प्राप्त गर्ने अधिकारमाथि प्रहार गर्ने विषयबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । ‘निर्वाचनका सन्दर्भमा सही सूचना प्रवाह र कानूनी व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशीराज दाहालले निर्वाचनका समयमा देखिने भ्रमपूर्ण सूचना प्रवाह गर्ने विश्वव्यापी प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

जिम्मेवार पदमा बसेका व्यक्तिले सूचनाको सम्प्रेषणमा सजगता अपनाउनुपर्ने दाहालले उल्लेख गर्नुभयो । निर्वाचनका समयमा सही सूचना सम्प्रेषण गर्न सूचना आयोग र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनता भयवित हुने र निर्वाचनप्रति नकारात्मक सन्देश दिने खालको सूचना प्रवाह गर्न नहुने बताउनुभयो ।

“सम्बन्धित राजनीतिक दलले उम्मेदवारको व्यक्तित्वका बारेमा मतदातालाई सूचना दिँदै लैङ्गिक र समावेशीताको दृष्टिकोणबाट पनि जनतालाई सूचित गराउनुपर्छ”, उहाँले भन्नुभयो । निर्वाचनको सम्मुखमा मात्र नभई सधैँ मतदाता जागरण, मतदाता शिक्षा सञ्चालन गर्न दाहालले निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । भ्रमपूर्ण सूचनाले मतदाता भयवित हुनसक्ने भन्दै उहाँले सञ्चारमाध्यमले सही सूचना मात्र सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । “निर्वाचनसँग सरोकार भएका जिम्मेवार व्यक्ति तथा संस्थाले तोकिएका समयमा सही सूचना सम्प्रेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

लोकतन्त्रको सुदृढीकरण तथा सही सूचना पाउने नागरिकको अधिकार प्रत्याभूत गराउन सूचना आयोग कडाइका साथ प्रस्तुत हुनुपर्ने दाहालको सुझाव छ ।

सूचनाका हकका विज्ञ टङ्क अर्यालले सही समयमा उपयुक्त स्थानबाट सही सूचना प्रवाह हुन नसके त्यसअवस्थामा गलत सूचना प्रवाह हुनसक्ने बताउनुभयो । गलत सूचना तीव्र गतिमा फैलने गरेको भन्दै उहाँले आम जनमानसमा ‘डिजिटल’ साक्षरता बढाइनुपर्ने बताउनुभयो । निर्वाचनका समयमा दल र उम्मेदवार लक्षित गरेर गलत अफवाह फैलनसक्ने, गलत सूचनाको निरन्तरको प्रवाहले निर्वाचन प्रभावित हुनसक्ने र स्वतन्त्र छलफल र विचारमाथि प्रहार हुनसक्ने उहाँको भनाइ छ ।

अधिवक्ता अर्यालले सामाजिक सञ्जालले सूचना प्रवाहमा सजिलो र छरितो बनाए पनि यसले सँगसँगै जोखिम पनि बढाएको बताउनुभयो । सामाजिक सञ्जालमार्फत फैलनसक्ने गलत सूचना रोक्न सम्बन्धित सञ्जालसँग सहकार्य गरेर भ्रामक सूचना रोक्न आयोगले छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘राजनीतिमा सक्रिय महिलाविरुद्ध हुने हिंसा’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पानोस साउथ एशियाका निर्देशक दीपक अधिकारीले निर्वाचनका समयमा महिला उम्मेदवारमाथि अनावश्यक लाञ्छाना लगाउने, महिलाको क्षमताको अवमूल्यन गर्ने र घृणायुक्त भनाइमार्फत प्रहार गर्ने पाइएको बताउनुभयो ।

राजनीतिक नेत्रीले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको, गाली बेइजति तथा होच्याउने खालका प्रतिक्रियाको सामना गर्नुपरेको उहाँको भनाइ छ ।

पानोस साउथ एशियाले गरेको एक अध्ययनमा सरकार तथा शक्तिको पदमा रहेका महिला राजनीतिज्ञ अनलाइन दुव्र्यवहारको मारमा पर्ने सम्भावना बढी देखिएको, सामाजिक सञ्जालमा सक्रियको हकमा उनीहरुले स्त्रीद्वेषी प्रतिक्रिया र घृणायुक्त भनाइको सामना गर्नुपर्ने अवस्था पाइएको उहाँले जानकारी दिनुभयो ।