३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार



अ+ अ-

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उहाँको परिवार छिमेकी (माइती) गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरूको कुइनेखानीको बारी पहिराले बगाएको थियो ।

विगत १२ वर्षदेखि विकका परिवार उनको श्रीमती लालमायाको कान्छो बुबाको घरमा आश्रय लिएर बसेका छन् । विक दम्पतीको अनमेल विवाह भएको थियो । न्यून दृष्टिविहीन रहनुभएकी लालमायाको ३९ वर्ष जेठा बसवीरसँग विवाह भएको थियो । अहिले लालमाया ३५ र बसवीर ७४ वर्ष पार गर्नुभएको छ ।

विक दम्पतीका चार सन्तान छन् । गरिबी, अभावको चरम सामाना गरेको यस परिवारले आश्रय लिएको घरसमेत जीर्ण अवस्थामा पुगेको छ । माइतीमा आश्रय लिएको घरबाहेक खेती–किसानी गर्ने कुनै जग्गाजमिनसमेत छैन ।

मजदुरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका विक परिवारमा घरमुली बसवीर वृद्ध हुँदै गएको र उहाँको गत वर्ष एउटा आँखाको ज्योति गुमेपछि परिवार नै साहाराविहीन बन्न पुगेका हुन् ।

“जेनतेन परिवार पालेको थिएँ, अघिल्लो वर्ष काम गर्ने क्रममा आँखामा ढुङ्गा पर्‍यो, समयमै अस्पतालमा उपचार गराउन जान नसक्दा आँखा नै बन्द भयो, अहिले त अर्को आँखाले पनि कम देख्न थालेको छ, पाखुरा बेचेर परिवार चलाउने मेसो पनि हरायो”, उहाँले भन्नुभयो । उहाँकी श्रीमती पनि न्यून दृष्टिविहीन हुनुहुन्छ ।

घरमुली दम्पतीले नै काम गर्न नसक्ने र दुवैको कुनै पनि आम्दानीको स्रोत नभएपछि उनीहरूको दैनिक घर खर्चदेखि छोराछोरीको पालनपोषण र शिक्षामा समेत अभावले सताउन थालेको छ । आफूहरूले घरायसी सामान्य कामबाहेक केही गर्न नसक्ने र छोराछोरी साना भएकाले घरखर्च र पढाइलेखाइ गराउन समस्या भएको लालमायाले बताउनुभयो ।

विक दम्पतीका ती छोरा र एक छोरीमध्ये एक जनाले स्कुल जान नै छाडेका छन् । जेठो १५ वर्षका छोरा सुविन्द्रलाई काठमाडौँको एक संस्थाले निःशुल्क पढाइदिएको छ । स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दागर्दै ११ वर्षका माइलो छोरा राजेन्द्रले आर्थिक अभावकै कारण स्कुल जान छोडेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएको र कापी, कलम तथा लत्ताकपडा व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छाडेर छिमेकी र गाउँलेको काम गर्न थालेको आमा लालमायाले दुःखेसो पोख्नुभयो । लालमायाकी १० वर्षीया छोरी सुशीलालाई पनि पढ्ने निकै रुचि छ तर उनको पढाइ पनि बीचैमा रोकिने त होइन भन्ने चिन्ता छ । विक दम्पतीको कान्छो छोरा तेजिन्द्र भर्खर दुई वर्षका छन् । नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाउने विक दम्पती गरिबी, अशिक्षा र अभावको चपेटामा परेका छन् ।

“छोराछोरी साना छन, श्रीमान् ७४ वर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि आँखाको कमजोरी छु, लाउने खानेदेखि लिएर पढाउन पनि धरै समस्या भएको छ, कपडा त मोगेर लगाउँछौँ, बरु कुनै छाक भोकै बस्छौँ, छोराछोरीको पढाइका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो”, लालमायाले भन्नुभयो । अहिलेसम्म त जेनतेन चलेको विक परिवारमा बिरामी भएमा कहाँ जाने भन्ने प्रश्नले पिरोलिरहन्छ । (रासस)