१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक हिलाम्य, यात्रा गर्न सास्ती



अ+ अ-

गलेश्वर । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ । 

बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा  पोखरी बनेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरंजा, बेनी–भकुण्डेलगायत सडक अहिलेसम्म पनि मर्मत गरिएका छैनन् । यात्रुले ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ । “यहाँका कतिपय सडकमा थोरै पानी पर्दा पनि मोटरसाइकल समेत चलाउन नमिल्ने हुन्छ”, स्थानीयवासी राजकुमार सुवेदीले भन्नुभयो । बेनी–भकुण्डे सडकको अवस्था झन दयनीय छ । बेनी–भकुण्डे सडकमा सवारीसाधन चल्न थालेको १३ वर्ष भयो । तर उक्त सडकको स्तरोन्नति अहिलेसम्म हुन सकेको छैन ।  

विसं २०६५ मा उक्त सडक सञ्चालनमा आएको हो । साढे सात किलोमिटर लामो सो सडक मर्मतका लागि हालसम्म रु एक करोड खर्च भइसकेको छ । सडकको दिन प्रतिदिन बिग्रिदै गएको स्थानीय शोभित सापकोटाले बताउनुभयो । बेनी–भकुण्डे सडकखण्डमा हालसम्म जीप र मोटरसाइकलबाहेक अन्य ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । “पानी नपर्दा मात्रै सवारीसाधन चलाउन सहज हुन्छ”, उहाँले भन्नुभयो ।

बेनी–बगरफाँट–बरङ्जा सडकको पनि यस्तै अवस्था छ । उक्त सडकको मर्मत गर्न थालेको तीन वर्ष भयो । सडकको अवस्था हालसम्म उस्तै छ । निर्माण व्यवसायी नारायण जिसीले ठेक्का लिएको यो सडकको मर्मत कार्य तीन वर्षमा तीन प्रतिशत पनि हुन सकेको छैन । सत्र किलोमिटर दूरीको उक्त सडक सदरमुकाम बेनी बजारदेखि दुई किलोमिटर दुरीमा रहेको बगरफाँटसम्म पनि मर्मत हुन नसक्दा सडकमै पोखरी बनेको छ । 

सडक स्तरोन्नति र मर्मतको जिम्मा लिएका जिसी कन्ट्रक्सनका जिसीले वर्खामा बाढी पहिरो र त्यस अघि कोरोनाको असरका कारण निर्धारित समयमा नै सडकको काम हुन नसकेको बताउनुभयो । त्यसैगरी बेनी–अर्थुङ्गे–पुलाचौर सडकको अवस्था पनि नाजुक छ । थोरै पानी पर्दा पनि सडकमा हिँड्न गाह्रो हुने स्थानीयवासी शिव बानियाँले बताउनुभयो । बेनी–पाखापानी सडकको अवस्था पनि यस्तै रहेको छ । सडक मर्मतको नाममा स्थानीय सरकार र प्रदेश सरकारबाट करोडौँ रुपैयाँ खर्च भइसकेको छ । सडकको अवस्थामा सुधार हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।