२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

के मेरो संस्कृति अब नासिदै छ ?

के मेरो संस्कृति अब नासिदै छ ?
अ अ+ अ-

एक दिन बिहान बिहानी हिडाइँमा निस्कदा आमाले भन्नुभयो – "बाबु ! सोह्रश्राद्ध आयो, तीन चार मुठा सालको पात ल्याउनु है ।" आमाले भन्नु भएको कुरा सम्झिदै र आमाले संस्कृति–संरक्षणमा दिनुभएको अटल निष्ठाको कदर गर्दै म घरबाट बाहिर निस्किएँ ।

बिहानमा हिँड्दा पनि नेपाली समाजमा आएका परिवर्तनले आमा पुस्तालाई केही असर नगरेको र आफ्नो पुस्ता भने सोह्रश्राद्ध जस्ता परम्परादेखि गरिँदै आएका रीतिरिवाज र संस्कृति–संरक्षणमा सीमान्त पुस्ता बन्नु परेकामा दुःखेसो मान्दै र नयाँ संस्कृतिलाई आत्मसात गर्दा आउन सक्ने तगाराको कल्पना गर्दै हिँडेको थिएँ । अलि पढे लेखेका, केही गरौं, केही कमाउँ र जीवनस्तरमा सुधार ल्याउँ भन्ने मनस्थिति राखेका  हरेक युवायुवती अनन्त सपना बोकेर जीवनलाई चुनौतीपूर्ण बनाउँदै विदेशतिर लागेका छन् ।

विदेश जानेहरुमा पनि पढ्न भनेर जानेहरु नेपालमा काम गर्न फर्कनेको संख्या नगन्य मात्र छ । छोराछोरी नेपाल नफर्किने भएपछि बाबुआमालाई दुई किसिमका पीडाहरु आइपर्छन् –

१) गरिआएका कामको जिम्मेवारी कसलाई दिने ?

२) खाइ नखाइ गरेर जम्मा गरेको सम्पत्तिको व्यवस्थापन कसरी गर्ने ?

यी दुई वटा कुरामा चिन्ता गर्दागर्दै व्यक्ति आफैं बुढो हुँदै जान्छ र अन्तमा भएको सम्पत्ति पनि जेजस्तो मोल आउँछ बिक्री गरेर आफू पनि छोरा भएतिरै बसाई सर्ने गरेका देखिन्छन् । बिहानी यात्रा सकेर घर फर्कदै गर्दा आमाले भन्नुभएको पात किन्न सम्झिएँ र चाबहिलको फुटपाथमै राखेको पातको मुठातिर आकर्षित भएँ ।

चाबहिल गणेशको दर्शन गर्न जान लागेको एउटा अपरिचित दम्पतीमध्ये पत्नी भन्दै थिइन् – घरमा ताल्चा लगाएर अमीरका बाबुआमा अमेरिका जाने भएछन् । पतिले पत्नीलाई सम्बोधन गर्दै भने – सरिता, हामीलाई पो सबै थाहा छैन, अमीर जस्ता विदेश जानेहरु र अमीरका बाबुआमा जस्ता घरमा ताल्चा लगाएर विदेश जान बाध्य भएकाहरु धेरै छन् । मैले नजिकैबाट चिनेका मध्ये नै पनि नाराणका बुढाबुढी अमेरिका गएका छन् छोरी कहाँ, ध्रुवका बुढाबुढी अमेरिकै छन् छोराकहाँ, बलराम दाइ ६ महिना जापान बसेर आएका मात्र थिए अहिले यसै महिना युरोपको कुन देशमा हो छोराकहाँ जाँदैछन् । हाम्रै टोलको भौकाजी हिजो मात्र नर्वे गयो रे ।

पतिको कुरा सुन्दा सरिताले नरमाइलो मानेको देखिन्थ्यो । त्यसपछि उनीहरु गणेशथान भित्र छिरे । म पनि पातका मुठा लिएर घरतिर लागें ।  घर गएपछि आमालाई पातको मुठा दिएँ । आमाले भन्नुभयो – म छउञ्जेल पितृलाई सम्झने त हो नि । त्यसपछि कसले गर्ला र १

मलाई पनि आमाको कुराले चस्स बिझ्यो ।

नेपालका धेरैका छोराछोरी अहिले विदेशमै छन् । उनीहरू फर्कने आशा क्रमशः घटिरहेको छ । छोराछोरी विदेश भएपछि बाबुआमा जानु ठीकै हो । आफ्नो देशमा योग्यता र क्षमता अनुसारको रोजगारी र पारिश्रमिक  नपाएपछि जहाँ पाइन्छ त्यहाँ जानु पनि ठीकै हो । तर बाबुआमा यसरी विदेश गएपछि गरिआएका तिथि, श्राद्ध, पूजाआजा, धर्मसंस्कृति, रीतिरिवाज, परम्परा धान्न त गाह्रो हुन्छ ।

विदेशको रहनसहन, हावापानी र अन्नले पुष्ट हुँदै आएको शरीरले विदेशी संस्कारको अबलम्बन गर्नु नौलो पनि होइन । म आफैं पनि धेरै पटक विदेश गएको छु, बसेको छु । विदेश बसेका बेलामा परम्परागत रीतिथितिका काम गर्न नपाएको अनुभव गरेको छु ।

आमाले त आधुनिक पश्चिमी संस्कृतिलाई त्यति धेरै बुझ्नु भएको पनि छैन । यदाकदा छोराहरु विदेशबाट घर आएको बेलामा गरेका गफ र एक पटक एक महिना आफैं अमेरिका बसेर देखेको बाहेक पश्चिमी संस्कृति बारे आमाले बुझ्नु भएको पनि छैन । एकातिर अध्ययन नै नगरेको विषय र अर्कोतिर जीवनभर नगरेको कामबारे जानकारी हुने कुरा पनि भएन ।

संस्कार सबैको लागि प्यारो हुन्छ । संस्कारले शरीर र मन शुद्ध बनाउने विश्वास सबै धर्मावलम्बीले गरेका हुन्छन् । हामी हिन्दुहरु मरेपछि कर्मको आधारमा सबै प्राणीले स्वर्ग वा नर्क जाने कुरा गर्छौं भने मानव जुनीमा गरेका श्रेष्ठ कर्महरुका आधारमा मुक्ति नै पाइन्छ भन्ने विश्वास गर्छौं । स्वर्ग र मुक्ति सत्कर्मले मात्र पाइन्छ । सत्कर्म गर्दा पाइने स्वर्गमा कर्मफल भोग गरुञ्जेल बस्न पाइन्छ भने सत्कर्म मध्येमा पनि उत्कृष्ट कर्म गर्नेहरुले मुक्ति नै पाएछन् र मुक्ति पाएपछि फेरि जन्म मृत्युको चक्रमा पर्नु पर्दैन ।

हाम्रै जस्तो क्याथोलिक क्रिश्चियनहरु पनि राम्रो काम गर्नेहरु स्वर्ग जान पाउने विश्वास गर्छन् । बाइबलले स्वर्गको कल्पना गरेको छ । तर, हिन्दुहरुको जस्तो मुक्तिको कुरा बाइबलमा पाइँदैन । स्वर्ग गएपछि आफ्नो परिवारका पहिले स्वर्ग जानेहरुसँग भेट गर्न पाइन्छ भन्ने विश्वास उनीहरु गर्दछन् । हामीले श्राद्ध गर्दा मृत पितृहरुलाई सन्तुष्ट बनाउन पानी र अन्न दिए झैं क्रिश्चियनहरु पनि मरेका पितृहरुले मन पराउने खाना खाएर सम्झना गर्दछन् । आफन्तहरुलाई बोलाएर खुवाउने र गरिब गुरुवाहरुलाई रुचि र क्षमता अनुसार दिने गर्दछन् । लामै समय क्रिश्चियन धर्मावलम्बीहरुको देशमा बसेकाले मैले यी सबै देखेको छु । त्यति हुँदा पनि कता कता आफूले गर्ने गरेका काम गर्न नपाउँदा र काम गर्ने वातावरण नदेख्दा भने विचलित पनि हुने गरेको छु ।

पात ल्याएर आमालाई दिएको दिनमा पनि म दिनभरि अफिस गएँ । बेलुका घर आउँदा आमाले सबै पात गासिसक्नु भएछ । टपरी, दुना, बोताको खात लागिसकेछ । श्राद्धको लागि चाहिने दुना, बोता, चारकुने, पाँचकुने टपरी गासिसकेकोमा आमा प्रसन्न हुनुभएको देखें ।

श्राद्ध गर्न पात ल्याइदिँदा, श्राद्धका सामान ठिक्क पारिदिँदा, दिदीबहिनी भाञ्जाभाञ्जीलाई निम्ता गर्दा आमा प्रसन्न भएको अनुभवले, आमाका चाउरी परेका छाला र अनुहारमा देखिएको प्रसन्नताका चिह्नले म पनि आमाको खुसीमा खुसी मिलाइदिन्छु ।

तर, मेरो भित्री मन भने टोलाइरहेको हुन्छ । म आफैंलाई खिन्न भावले भन्न थाल्छु – म कति अभागी भएको छु । परम्परा अनुसार कुलले गर्दै आएको कामलाई निरन्तरता नदिने सन्तानलाई जन्म दिएकोमा म पापी भएको छु । हिन्दु शास्त्रका वचन अनुसार श्राद्ध नपाउने पितृहरुले नरक भोग गर्नुपर्छ भन्ने सुनेको छु । म त नरक पर्ने भएँ भएँ, मेरा पितृहरुलाई पनि भोकै बस्नु पर्ने र नरकमै बसिरहनुपर्ने भयो । मेरै पालामा यस्तो हुनु परेकोमा खल्लो अनुभव गरें ।

अनि परिवेश र सामाजिकताले क्रमशः बाँध्दै ल्याएको वास्तविकता सम्झिएँ । अनि मनै मन प्रश्न गर्न थालें – के मेरो संस्कृति अब नासिँदै जान्छ ? के मेरै पालादेखि नयाँ संस्कृति र परम्परा सुरु हुन्छ ?