५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उहाँले आयोगले आफूले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा प्रतिस्पर्धात्मक परीक्षा पद्धतिको माध्यमबाट योग्यतम व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा दिलाएको बताउनुभयो । उक्त विश्वासमा अझै उचाइ थप्न गण्डकी प्रदेश लोकसेवा आयोग सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सार्वजनिक प्रशासनलाई सक्षम र सुदृढ बनाउन प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा कर्मचारी छनोट गर्ने दायित्व पूरा गर्दा आयोगका मूल्यमान्यतालाई आत्मसात् गरी योग्य व्यक्ति छनोट गर्ने कुरामा आयोग परिवार कटिबद्ध भएर लाग्ने गुरुङले बताउनुभयो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउनका लागि प्रदेश लोकसेवा आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आवश्यक हुनेमा जोड दिँदै उहाँले प्रदेश लोकसेवा आयोगले यहाँको आवश्यकताअनुसार सक्षम जनशक्ति दिने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशले अरु क्षेत्रमा जस्तै प्रशासनिक क्षेत्रमा पनि नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै प्रदेश लोकसेवा आयोगले योग्यता, दक्षतायुक्त जनशक्ति पठाउने बताउनुभयो । आयोग स्थापनाको एक वर्षमा भएका कामकारबाही प्रशंसनीय भएको उहाँको भनाइ थियो ।

प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल बन्ने विश्वास व्यक्त गर्नुभयो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सङ्घीय निजामती ऐन बन्न नसक्दा समस्या आएको बताउनुभयो । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगले आफ्ना काम अघि बढाएको र निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताउनुभयो । कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा उत्कृष्ट कर्मचारी शाखा अधिकृत सन्दीप ढुङ्गानालाई सम्मान गरिएको थियो भने आयोगको स्मारिका लोकार्पण गरिएको थियो ।