१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिना पछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक



अ+ अ-

म्याग्दी । बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले  यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् ।

यहाँका स्थानीय तहले सडक खुलाउने प्रयास गरे पनि लगातार भइरहेको वर्षाले पटकपटक अवरुद्ध हुँदै आएका सडक वर्षा रोकिएपछि  दसैँको मुखैमा बल्ल खुल्न थालेका हुन् । स्थानीय तहले डोजर, स्काभेटरको प्रयोग गरेर सडक खुलाएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । नगर पािलकाका सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेको बेनी नगरपालिकाले जनाएको छ ।

पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाले चाडपर्व मान्न गाउँ फर्केका  नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाले पनि पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । “केही दिनयता ग्रामीण सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ, दसैँमा घर जान नागरिकलाई कुनै दुःख हुँदैन”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 

अवरुद्ध भएका ग्रामीण सडकसँगै बेनी–दरबाङ सडकखण्डमा  पनि कुनै समस्या नभएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उहाँको भनाइ छ । कठिन भूगोल भएका धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाका प्रायः सबै सडक सञ्चालनमा आइसकेका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाभित्रका सडक पनि सञ्चालनमा आउन थालेका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उता बेनी–जोमसोम सडकखण्ड पनि केही दिनयता नियमितरुपमा सञ्चालनमा छ । अघिल्लो साता काभ्रेभिर पहिरो गएपछि तीन दिनसम्म सडक अवरुद्ध भएको थियो । त्यहाँको सडक मर्मत गरेर यातायात सञ्चालन गरिएसँगै अहिले सो सडकखण्डमा कुनै समस्या नभएको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

त्यसैगरी बेनी–रत्नेचौर–बागलु, बागलु–रत्नेचौर–भकुण्डे, बेनी–मालढुङ्गा, बेनी–लभ्लीहिल–भकुण्डे, बेनी–बगरफाँट–बरङ्जा, बेनी–पुलाचौरलगायतका सडक पनि सञ्चालनमा आएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।