१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडादशैंको अवसरमा एमाले अध्यक्ष ओलीको शुभकामना



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीको महान पर्व विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले विज्ञप्ती जारी गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा बडादशैंको शुभकामना व्यक्त गर्नुभएको हो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न सबैमा आग्रह समेत गर्नुभएको छ । 
उहाँले भन्नुभएको छ,

शुभकामना

नेपालीहरुको महान् चाड, बडादशैंको अवसरमा सर्वप्रथम म, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

बडादशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा रहेका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडपर्वहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका हुन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनका महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रवन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले अत्यन्तै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् । 

यी चाडपर्वहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रवन्धका आधार पनि हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रवन्धहरुका आधारमा विकसित भएका छन् । त्यसैले यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जीवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता पर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजहीन जस्तो बनाउँछ ।

तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पनि पूरा गर्नु छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु । 
बडादशैंलाई विभिन्न वर्षमा हामीले फरक फरक प्रतिकूलता बीच मनाउँदै आएका छौं । महाविनाशकारी भुइँचालो गएको साल पनि दशैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपाल मुनी बसरे भए पनि यो परम्परा धान्यौं । पारिवारिक मिलनको चाडका रुपमा वर्षमा एक चोटी हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक 

यस्ता महान पर्वहरु मनायौं । वितेको वर्षयता हामीले कोभिड–१९ महामारीका बीच बडादशैं मनाइरहेका छौँ । विश्वव्यापी कोभिड–१९ को यस महामारीलाई हामीले अधिक हदसम्म नियन्त्रण गरेका छौँ । हाम्रो अथक प्रयासका वाबजूद यसको जोखिम अझै समाप्त भइसकेको छैन । कोभिड–१९ को संक्रमण विस्तारबाट बच्न अझै हामीले भौतिक घुलमिलमा सजगता अपनाउनु पर्ने छ । यसर्थ बडादशैंको उत्सवमा सहभागि हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनुशरण गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आग्रह गर्दछु ।    

अन्त्यमा, परिवार र आफन्तजनहरुसँगको आत्मीय मिलनका रुपमा मनाईने यस महान् चाड बडादशैं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुका लागि उल्लासपूर्ण बनोस् । 
बडादशैं २०७८ को हार्दिक शुभकामना !

धन्यवाद ।