काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा प्रतिबन्ध लगाइएको छ ।
उनलाई ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर कारवाही गरेपछि प्रशिक्षक अल्मुताइरीले यसको विरोध जनाएका छन् ।
प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले यो निर्णय फिर्ता लिनुपर्ने बताएका हुन् ।
राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणमा दुई पहेँलो कार्ड खाएपछि उनलाई फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर निर्णय गरिएको हो ।
उनले शनिबार बिहान आयोजित भुर्चअल प्रेस मिटमा आपत्ति जनाउँदै भने, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’ नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको समेत आरोप लगाए ।
यस्तै फाइनलमा भारतीय प्रशिक्षक इगोर स्टिमेक पनि खेलका क्रममा ‘टेक्निकल एरिया’ मा बस्न पाउने छैनन् । उनलाई माल्दिभ्सविरुद्धको खेलमा सिधा रातो कार्ड देखाइएको थियो ।
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच आज (शनिबार) राति ८ः४५ बजे खेल हुँदैछ ।